Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुलुकको कुल वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब र दायित्व १७ खर्ब २९ अर्ब रुपैयाँ, बाह्य लगानी ७५ अर्बले घाटामा


मुलुकको कुल वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब र दायित्व १७ खर्ब २९ अर्ब रुपैयाँ, बाह्य लगानी ७५ अर्बले घाटामा

काठमाडौँ । गत आर्थिक वर्षको अन्त्यसम्म मुलुकको खुद अन्तर्राष्ट्रिय लगानी अवस्था करिब ७५ अर्ब रुपैयाँले घाटामा छ । जुन गत असारसम्म मुलुकको अन्तर्राष्ट्रिय लगानीमा सम्पत्तिभन्दा करिब ७५ अर्ब रुपैयाँ दायित्व बढी भएको ऋणात्मक अवस्था हो ।

यसअनुसार गत असारसम्म मुलुकको खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति (नेट इन्टरनेसनल इन्भेस्टमेन्ट पोजिसन–आईआईपी) ७४ अर्ब ९० करोड रुपैयाँले घाटामा (ऋणात्मक) छ । ०७९ असार मसान्तको तुलनामा गत असारसम्म यस्तो घाटा १ खर्ब ९६ अर्ब ४४ करोड रुपैयाँले कम हो ।

०७९ असारसम्म खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ७१ अर्ब ३४ करोड रुपैयाँले घाटामा थियो । ०८० असारसम्म मुलुकको वैदेशिक सम्पत्ति १६ खर्ब ५४ अर्ब ५० करोड तथा दायित्व १७ खर्ब २९ अर्ब ३९ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । यसअनुसार खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति करिब ७५ अर्बले घाटामा छ । तर, ०७८ असारसम्म खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति करिब ८० अर्ब १२ करोड रुपैयाँले बचतमा थियो ।

आर्थिक वर्ष ०७७/७८ को तुलनामा ०७८/७९ मा आयात बढेको रेमिट्यान्स घटेकोलगायत कारण खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति करिब पौने ३ खर्ब रुपैयाँ घाटामा गएको थियो । तर, आर्थिक वर्ष ०७८/७९ को तुलनामा आव ०७९/८० मा रेमिट्यान्स आप्रवाह बढेको, आयात घटेकोलगायत कारण खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थितिमा घाटाको रकममा कमी आएको तथ्याङ्कले बताएको छ ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा रेमिट्यान्स बढेको र आयात घटेकाले शोधनान्तर स्थिति बचतमा रहेकाले मुलुकको वैदेशिक सम्पत्ति तथा दायित्वमा घाटाको परिमाण घट्दै गएको नेपाल राष्ट्र बैंकका उच्च अधिकारीको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा गत आर्थिक वर्षमा बाह्य लगानी दायित्व ८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा दायित्वतर्फ सबै सूचक बढेका छन् । यसअनुसार दायित्वतर्फ मुद्रा र निक्षेप (करेन्सी एन्ड डिपोजिट) २५ प्रतिशतले बढ्दा प्रत्यक्ष लगानी २.३ र अन्य लगानी ९.१ प्रतिशतले वृद्धि भएको छ । यसअनुसार गत असार मसान्तमा मुलुकको कुल वैदेशिक दायित्व १७ खर्ब २९ अर्ब ३९ करोड रुपैयाँ छ । गत असार मसान्तसम्मको कुल वैदेशिक सम्पत्तिभन्दा कुल वैदेशिक दायित्व बढी भएकाले खुद बाह्य लगानी स्थिति झन्डै ७५ अर्ब रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत असार मसान्तमा मूल्यवृद्धि केही चापमा रहे पनि रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढेको छ । उक्त अवधिमा झन्डै ३ खर्ब रुपैयाँले शोधनान्तर स्थिति बचतमा र विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर छ । चालु खाता अझै घाटामै रहे पनि पछिल्ला महिनामा घाटा रकममा कमी आएको छ । गत आर्थिक वर्षमै प्रत्यक्ष विदेशी लगानी भने बढ्न सकेको छैन । यद्यपि विदेशी मुद्रा सञ्चितिमा कमी र शोधनान्तर स्थिति घाटामा गएर मुलुक श्रीलंका जस्तै बन्छ भन्ने जोखिमबाट मुक्त भइसकेको अर्थविद् बताउँछन् ।