Friday, August 15, 2025

२०८२ श्रावण ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२० वटा वाणिज्य बैंकको कुल ७१ अर्ब रुपैयाँ खुद नाफा,अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ४३ प्रतिशतको वृद्धि


२० वटा वाणिज्य बैंकको कुल ७१ अर्ब रुपैयाँ खुद नाफा,अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ४३ प्रतिशतको वृद्धि

काठमाडौं । गत आार्थिक वर्ष २०८१/८२ मा २० वटा वाणिज्य बैंकले कुल ७१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ४३ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले बैंकहरुको नाफा करिब ४३ प्रतिशतले बढेको देखाएको हो । आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कुल नाफा पौने ५० अर्ब रुपैयाँ थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १६ वटाको नाफा बढेको छ भने बाँकी ४ वटाको घटेको छ । नाफा बढ्ने बैंकमध्ये पनि केहीको वृद्धिदर निकै अस्वाभाविक (उच्च दर) रहेको देखिन्छ । ती बैंकमध्ये केहीको वृद्धिदर शतप्रतिशतले बढेको छ भने केहीको त्योभन्दा धेरैले पनि बढेको देखिन्छ ।

यसको कारण बैंकहरुले गत वर्षको चौथो त्रैमासको अपरिष्कृत तथ्यांक अघिल्लो आर्थिक वर्षको परिष्कृत (अडिट भएको) तथ्यांकसाग तुलना गर्नु नै हो । त्यसो त जहिले पनि बैंकहरुको गत वर्षको यही अवधिको विवरणसँग नै तुलना गर्ने हो । तर, गत वर्ष बैंकहरुले प्रकाशित गरेको चौथो त्रैमासको अपरिष्कृत तथ्यांकका तुलनामा परिष्कृत तथ्यांकबीच धेरै फरक परेकाले त्यसको तुलनामा यस वर्ष नाफा धेरैले बढेको देखिएको हो ।

सरल भाषामा भन्दा बैंकहरुले गत वर्ष अपरिष्कृत वित्तीय विवरणमा देखाएको नाफाभन्दा परिष्कृत (लेखापरीक्षण भएको) विवरणमा नाफा धेरै कम देखाएका थिए । यसरी त्यही कम नाफाको तुलनामा गत वर्षको अपरिष्कृत विवरणको नाफा तुलना गर्दा ती बैंकहरुको नाफा धेरैले आकासिएको देखिएको एक बैंकरले बताए । यसरी नाफा वृद्धिदर धेरै हुने बैंकहरूमा कुमारी, नेपाल बैंक, राष्ट्रिय वाणिज्य, प्रभु लगायत छन् । त्यसो त चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएका सहज व्यवस्थाले पनि बैंकहरुको नाफा वृद्धिमा टेवा पुगेको बैंकहरु बताउँछन् ।

लचिलो नीतिगत व्यवस्था र कर्जा असुलीमा सुधार भएपछि गत वर्ष बैंकहरुको खराब कर्जा बापतको नोक्सानी व्यवस्था पनि घटेको छ । जनअनुसार गत असारसम्म बैंकहरुको कुल नोक्सानी व्यवस्था साढे २८ अर्ब रुपैयाँ छ । जबकि अघिल्लो वर्ष यस्तो व्यवस्था ५५ अर्ब ९८ करोड रुपैयाँ थियो ।

नाफा बढेपछि गत आर्थिक वर्षमा बैंकहरुको खुद ब्याज आय भने १ प्रतिशतले घटेको छ । जसअनुसार अघिल्लो वर्ष १ खर्ब ९२ अर्ब ६४ करोड रूपैया रहेको कुल ब्याज आय गत वर्ष १ खर्ब ९० अर्ब ५३ करोड रुपैयाँ मात्र छ । गत आर्थिक वर्षमा बैंकहरुको लाभांश दिने क्षमता (वितरणयोग्य मुनाफा) २१ अर्ब ६३ करोड रूपैयाँ छ । यसका आधारमा बैंकहरूले औसतमा १३.२९ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकहरूको खराब कर्जा औसत ४.१ प्रतिशत कायम रहेको देखिन्छ ।