काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत अन्य आयोजनाको उद्घाटन भएको छ । सुदूरपश्चिमको कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
यो निर्माण सम्पन्न भई उद्घाटन भएको राष्ट्रिय गौरवमा सूचीकृत पाँचौँ आयोजना हो । यसअघि अपर तामाकोशी हाइड्रोपावर, मेलम्ची खानेपानी आयोजना, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको औपचारिक उद्घाटन भएको थियो । यो आयोजनाको इतिहास १२० वर्ष पुरानो छ । यो कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएको सबैभन्दा ठुलो सिँचाइ प्रणाली हो ।
स्थानीय समुदायको प्रयासबाट सुरुमा निर्माण भएको यो आयोजनाले स्तरोन्नतिअघि कैलालीको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका लगायत क्षेत्रका करिब ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको थियो ।
यस सिँचाइ प्रणालीमा कमान्ड एरियाको दक्षिणी भागमा रानी सिँचाइ प्रणाली, मध्य भागमा जमरा सिँचाइ प्रणाली र उत्तरी भागमा सिँचाइ गर्न कुलरिया सिँचाइ प्रणाली रहेको छ ।
यी प्रणालीहरूको व्यवस्थापन गर्न तीन वटै प्रणालीमा अलग अलग जल उपभोक्ता संस्था रहेका थिए । यी तीन वटै शाखा प्रणालीको समन्वयको लागि कर्णाली कुलो (रानी जमरा कुलरिया) सिँचाइ जल उपभोक्ता संस्था मूल समिति रूपमा रहेको छ ।