काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले पनि कामको गति बढाएको छ । सोही क्रममा एमसीए नेपालले रातमाटे–नयाँ दमौली प्रसारण लाइन र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता गरेको छ । एमसीए नेपालले १५ करोड ४५ लाख अमेरिकी डलर (२१ अर्ब ६३ करोड रुपैयाँ) को प्रसारण लाइन निर्माण सम्झौता गरेको हो । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमसीए नेपाल र निर्माण पक्षबीच सम्झौता भएको हो ।
संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ एमसीसीको नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको हो । यसअनुसार एमसीए नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा बिहीबार दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालमा सञ्चालन भइरहेका रूपान्तरणकारी पूर्वाधार निर्माणसम्बन्धी आयोजनाका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको एमसीए नेपालले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनले रोकिएको एमसीसी कार्यक्रमले यही साउन तेस्रो साता निरन्तरताको अनुमति पाएको थियो । कार्यक्रमलाई निरन्तरता दिन अमेरिकी सरकारले निर्णय गरेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले अर्थ मन्त्रालयलाई औपचारिक जानकारी गराएको थियो । यो निर्णयसँगै निर्बाध रूपमा एमसीसी नेपालको कार्यक्रम अघि बढ्न बाटो खुलेको थियो ।
उक्त अनुमतिपछि एमसीए नेपालले पहिलो पटक दुई प्रसारण लाइनको निर्माण सम्झौता गरेको हो । त्यसअघि एमसीए नेपालले निर्माण सुरु भएका आयोजनाको काम जारी रहिरहेको दाबी गरे पनि नयाँ काम हुन सकेको थिएन । निर्माणको गति पनि सुस्त थियो । अब भने एमसीए नेपालले नयाँ निर्माणको काम पनि अघि बढाएको हो ।
अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट छानिएका दुई निर्माण कम्पनीसँग बिहीबार सम्झौता गरिएको हो । यसअनुसार एमसीए नेपालले रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एन्जेलिक स्किपर जेभी (संयुक्त उपक्रम) सँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा सलासर जेभी (संयुक्त उपक्रम) सँग गरेको हो ।
अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरू, अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिले बिहीबार सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा दुवै प्रसारण लाइन निर्माणको काम ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।