काठमाडौं । कानुनी र नीतिगत स्पष्टता नभएकाले टेरामक्स प्रविधि जडान नगरिएको सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले जनाएको छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याउन खोजेको टेरामक्स प्रविधि नेपाल टेलिकमले आफ्नो सिस्टममा इन्स्टल गर्नुअघि कानुनी स्पष्टता चाहिएको उल्लेख गरेको छ । दूरसञ्चार क्षेत्रमा हुनसक्ने गैरकानुनी गतिविधि र राजश्वको असली विवरण पत्ता लगाउन भन्दै प्राधिकरणले टेरामक्स प्रविधि कार्यान्वयनमा ल्याउन खोजेको छ ।
नेपाल टेलिकमले ग्राहकको गोपनीयतासँग जोडिएको विषय भएकाले आफूहरूको प्रणालीमा जडान नगरिएको कम्पनीकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीले बताएकी छन् । ‘हाम्रा करोड ग्राहकको गोपनीयतासँग जोडिएको विषय भएकाले कानुनी र नीतिगत स्पष्टता नभएका इन्स्टल गरिएको छैन,’ बुधबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा बोल्दै उनले भनिन्, ‘हामी कानुनी र नीतिगत स्पष्टताको पर्खाइमा छौं ।’
पहाडीले दूरसञ्चार सेवाको अनुमतिपत्र लिँदा नै ट्राफिक मनिटरिङ, फ्रड कन्ट्रोल र गुणस्तर सुनिश्चिततालगायत विषयमा सेवा दिने प्रतिबद्धता व्यक्त गरिएको र त्यसका लागि टेलिकम आफैंसँग पर्याप्त उपकरणको व्यवस्था भएको पनि अवगत गराइन् । ‘नियामक निकायले कुनै पनि बेला हाम्रो प्रणालीको मनिटरिङ गर्न सक्छन्,’ उनले भनिन्, ‘टेरामक्सजस्तै प्रविधि हामीसँग पहिले नै छ ।’ सोही प्रविधिबाट पछिल्लो पटक भीओआईपीसम्बन्धी तीनवटा घटना पत्ता लागेको पनि पहाडीको भनाइ थियो ।