Monday, November 10, 2025

२०८२ कार्तिक २५, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति ४३.६६ प्रतिशत


काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति ४३.६६ प्रतिशत

हेटौँडा । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ४३.६६ प्रतिशत मात्र रहेको छ ।

नेपाल सरकारबाट निर्माणको जिम्मा पाएको नेपाली सेनाले यस आयोजनाको  चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्त महिनासम्मको समष्टिगत वित्तीय प्रगति ४४.८९ प्रतिशत रहेको जनाएको छ ।

नेपाली सेनाले सार्वजनिक गरेको गत असोज मसान्तसम्मको आयोजनाको समष्टिगत प्रगति विवरण अनुसार आयोजना अन्तर्गतका सुरुङमध्ये तीन हजार ३५५ मिटर लम्बाईको महादेवटार सुरुङको दायाँतर्फको सुरुङको तीन हजार ३३३ मिटर लम्बाईमध्ये दुई हजार २८८ मिटर र बायाँतर्फको सुरुङको तीन हजार ३२२ मिटर लम्बाईमध्ये दुई हजार २९ मिटर निर्माण प्रगति भएको छ । 

आयोजना अन्तर्गतमा सात वटा सुरुङ्गमार्गको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेकोमा लेनडाँडा र धेद्रे सुरुङको ब्रेकथ्रू भई निर्माणाधीन छ ।  यस्तै दुई हजार २५० मिटर लम्बाइको चन्द्रामभीर सुरुङको ३०६ मिटर निर्माण प्रगति भएको सेनाको भनाई छ । 

कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्या साथै द्रुतमार्गको शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया शुरु हुन बाँकी रहेको छ । उक्त खण्डमा पर्ने जग्गाहरुको मुआब्जा वितरणको लागि सम्बन्धितसँग समन्वय भइरहेको र जग्गा अधिग्रहण सम्बन्धी समस्या समाधानको लागि सम्भावित विकल्पहरुको डिजाइन कार्य अगाडि बढिरहेको सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार ५३ स्थानका पुलको फाउण्डेसन निर्माण सम्पन्न भएको छ । सडक निर्माण कार्य प्रगति अनुसार ९.३ किलोमिटर सडकको सब बेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडकको कालोपत्रे सम्पन्न भएको छ ।

आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको कुल लागत दुई खर्व ११ अर्व ९३ करोड रुपियाँ रहेको छ भने हालसम्मको समष्टिगत खर्च ८२ अर्ब १७ करोड रुपियाँ रहेको नेपाली सेनाको गत असोज मसान्तसम्मको द्रुतमार्ग आयोजनाको सार्वजनिक प्रगति विवरणमा उल्लेख छ ।