काठमाडौँ । आजदेखि राजधानीमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १३१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निरधारित २० ओभरमा छ विकेट गुमाएर १३० रनको योगफल बनाएको हो ।
जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिनुभयो । उहाँले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाउनुभयो । यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाउनुभयो । लाहिरु मिलन्था सात रनमा आउट हुनुभयो ।
काठमाडौँ गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिनुभयो भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक/एक विकेट लिनुभयो ।
यसअघि भएको पहिलो संस्करणको खेलमा भने जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको थियो । काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
