काठमाडौँ । नेपालमा पर्वतारोहण र पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । नेपालमा खर्चालु पर्यटक भित्र्याउने मुख्य आधार मानिने पर्वतीय पर्यटन (हिमाल आरोहण) मा यस वर्ष पछिल्लो तीन वर्षयताकै सर्वाधिक सफलता मिलेको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार सन् २०२३ देखि सन् २०२५ सम्मको तथ्याङ्क अनुसार हिमालमा आरोहणमा सर्वाधिक आकर्षणसँगै राजस्व सङ्कलनमा समेत करिब तीन गुणाले प्रगति भएको छ । विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “पछिल्लो तीन वर्षको पर्वतारोहण परिदृश्य अनुसार हिमाल आरोहणतर्फ यस वर्ष आरोहण अनुमति लिनेको सङ्ख्या र राजस्व सङ्कलनमा सर्वाधिक प्रगति देखिएको छ । यस वर्ष ९३ देशका दुई हजार ७४५ पर्वतारोहीले नेपालका ७३ हिमाल आरोहणमा चासो देखाएका छन् जुन हालसम्मकै सर्वाधिक हो । त्यस्तै यस वर्ष राजस्व (सलामी दस्तुर) समेत विगतभन्दा तीन गुणाले बढेको छ ।”
उहाँका अनुसार सन् २०२४ मा ९० देशका दुई हजार ५४८, सन् २०२४ मा ९२ देशका दुई हजार ३६३ र सन् २०२५ मा दुई हजार ७४५ जनाले आरोहण अनुमति लिएकोमा पछिल्लो तीन वर्षको अवधिमा आरोहण गर्न चाहने हिमालको सङ्ख्यासमेत बढेर ६४ बाट बढेर ७३ पुगेको छ ।
त्यस्तै सन् २०२३ को शरद् ऋतुमा ७६ देशका एक हजार ३२६, सन् २०२४ मा ७३ देशका एक हजार २८० आरोहीले अनुमति लिएकोमा यस वर्ष ६२ वटा हिमाल आरोहण गर्न ८३ देशका एक हजार ५३८ आरोहीले अनुमति लिएको उहाँले जानकारी दिनुभयो । उक्त अनुमतिबापत यस वर्षको शरद् ऋतुमा २६ करोड ४१ लाख ८० हजार ४४९ रुपियाँ राजस्व सङ्कलन भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२२ मा ६१ हजार ७०१, सन् २०२३ मा एक लाख ५४ हजार २६२ र सन् २०२४ मा एक लाख ६६ हजार ३९४ जना विदेशीले ट्रेकिङ तथा पर्वतारोहणका लागि नेपाल भ्रमण गरेका छन् ।
