काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघमा आन्तरिक असन्तुष्टि बढेको छ । संघको १२ औं महाधिवेशनको तयारी स्वरुप संघका अध्यक्ष दुजाङ शेर्पाले ७७ वटै जिल्ला र देशभरका ११३ क्याम्पसमा राष्ट्रव्यापी सदस्यता वितरण र सुझाव संकलनका लागि यहि पुस २ गते प्रतिनिधि खटाएको विषयमा विद्यार्थी नेताहरु बीच असन्तुष्टि बढेको हो ।
मातृ पार्टी नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ लगायत सम्पूर्ण भातृ संस्थाहरुको अधिवेशन २०८१ चैत्र मसान्त भित्र सम्पन्न गर्न निर्देशन समिति समेत गठन गरिसकेको छ । प्रतिनिधि चयनमा सर्वपक्षीय छलफल नगरी अध्यक्ष शेर्पाले मनोमानी ढंगले प्रतिनिधि खटाएकोमा पूर्व महामन्त्री सशांक कोइराला निकट विद्यार्थी नेताहरूले असन्तुष्टि व्यक्त गरेका हुन । संघलाई महाधिवेशनको सरल मार्गमा प्रस्थान गराउनु भन्दा अतिरिक्त क्रियाकलापमा व्यक्त रहँदै, संघका सबै संरचनामा विवादित गतिविधि सञ्चालन गर्दै आएको उनिहरुको आरोप छ ।
गत चैत्रमा सम्पन्न केन्द्रीय समिति बैठकबाट नै महाधिवेशनको स्पष्ट आधार र कार्यतालिका तय गर्दै नीतिगत विषयहरू सर्वपक्षीय छलफलबाट नै टुंग्याउनु पर्ने माग कोइराला पक्षीय नेताहरुको थियो । अध्यक्ष शेर्पाले अन्य समूहका विद्यार्थी नेताहरु बीच समय समयमा विवाद सृजना गर्दै महाधिवेशन नगर्ने र कार्यकाल लम्बाउने रणनीतिमा अगाडि बढेको डा.शशांक कोइराला निकट केन्द्रीय सदस्य पूजन गन्धर्वले बताए । गन्धर्वले नेविसंघका अध्यक्षले नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत गरेको कार्यतालिका समेत लत्याएको र पार्टी नेतृत्व र महासमिति लाई समेत वेवास्ता गरेको बताए ।
हाल नेविसंघ भित्र धादिङ, काठमाडौँ, बारा, कास्की, नवलपरासी, कञ्चनपुर लगायत जिल्लाहरूमा समेत विवाद रहेको र काठमाडौँको त्रिभुवन विश्वविद्यालय, पद्मकन्या क्याम्पस, थापाथली क्याम्पस लगायत महत्वपूर्ण क्याम्पसहरूमा दुई वटा समिति रहेको र धेरै महत्वपूर्ण क्याम्पसहरू नेतृत्व विहिन रहेको उनको भनाई छ ।
संगठन भित्रको विवादलाई समाधान गरी १२ औं महाधिवेशनको बाटोमा अगाडि बढ्नुको विकल्पमा मनोमानी ढंगले अगाडि बढिरहेकोले महाधिवेशन प्रभावित हुने विद्यार्थी नेताहरु बताउँछन् । डा.शेखर कोइराला पक्षीय केन्द्रीय सदस्यहरुले पनि सामूहिक रुपमा बहिस्कार नै गर्ने घोषणा गरिसकेका छन् ।
शेखर कोइराला पक्षीय केन्द्रीय सदस्य प्रेमिका रानामगरले विज्ञप्ति नै जारी गरी आफूहरुको फरक मत रहेको र समान्तर गतिविधि सञ्चालन गर्ने घोषणा गरिसकेकी छन् । ७५३ सदस्यीय जम्बो केन्द्रीय समितिमा नेविसंघमा पार्टीका विभिन्न नेताहरु निकट केन्द्रीय सदस्यहरूको चर्को गुटबन्दी सतहमा आएको हो ।
अध्यक्षले पटक—पटक सम्झौता र सहमतिलाई पूरा नगर्ने र छलकपट गर्ने शैलीले नेविसंघ लथालिङ्ग अवस्थामा पुगेको पूर्व सिनेटर समेत रहेका अर्का केन्द्रीय सदस्य पंकज कुमार क्षेत्रीले बताए ।
आफूसँग सबैलाई समेटेर जिल्ला जिल्लामा प्रतिनिधि खटाउने सहमति भए पनि अध्यक्ष शेर्पाले देशभरका क्याम्पसहरुमा आफूखुशी प्रतिनिधि खटाएको उनले बताए । यस्ता, गतिविधिले नेपाल विद्यार्थी संघको गरिमा र लोकतान्त्रिक संस्कारनै धरासायी अवस्थामा पुगेको र आसन्न स्ववियु निर्वाचनमा समेत नकारात्मक प्रभाव पार्ने क्षेत्रीको दावी छ ।