काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताए । आइतबार पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ सभा बैठकलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएको प्रधामन्त्रीले सो कुरा बताए ।
विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रममा दिगो विकास, वातावरण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री दाहालले खासगरी २१औँ शताब्दीको आवश्यकता परिपूर्ति र वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताए ।
पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७औँ सभा–बैठकमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालको सम्बोधन पूर्णपाठ
पूर्वाञ्चल विश्वविद्यालय सभाको सैँतीसौँ सभा–बैठकमा कुलपतिको हैसियतले सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । यस विश्वविद्यालयले स्थापनाको झन्डै तीन दशकको अवधिमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु। यस अवसरमा पूर्वाञ्चल विश्वविद्यालय स्थापनाका लागि योगदान पु¥याउने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा उच्च शिक्षाको गुणस्तर कायम गर्दै विश्वविद्यालयको संस्थागत सुधारका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु ।
विश्वविद्यालयका उपकुलपतिले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम एवम् रजिष्ट्रारबाट प्रस्तुत बजेटले विश्वविद्यालयको समग्र शैक्षिक–भौतिक प्रगतिका साथै विकास र विस्तारमा समेत सघाउ पुग्ने विश्वास लिएको छु । उपकुलपतिले नीति तथा कार्यक्रममार्फत् उठाउनुभएका विषयहरूमा सहकुलपति तथा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूसँगको परामर्श र समन्वयमा अगाडि बढाई कार्यान्वयनमा सहयोग पु¥याउने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।
विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ । पूर्वाञ्चल विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनको क्षेत्रमा राष्ट्रको आवश्यकता एवम् अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यानकेन्द्रित गरेको जानकारी पाउँदा खुशी लागेको छ । देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्न सक्ने तमाम् चुनौती र समस्याहरूको समाधानका लागि सोच्नुपर्दछ ।
विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रममा दीगो विकास, वातावरण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु आवश्यक छ । प्रविधिको तीव्र विकास र विस्तारले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सम्भव हुन्छ । तसर्थ, सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई नवप्रवर्तन, जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बनाउने, नयाँ–नयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्नसक्ने, मुलुकको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्न सक्ने सिर्जनशील जनशक्ति उत्पादनमा विश्वविद्यालयहरू केन्द्रित हुनुपर्दछ ।
खासगरी २१औँ शताब्दीको आवश्यकता परिपूर्ति र वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक छ । यस सन्दर्भमा समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा परेका बाधा–अड्चन, नीतिगत तथा कानुनी समस्याहरूको समाधान र ऐनको समयाकुल परिमार्जन र संशोधनका लागि समेत नेपाल सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।
उच्चशिक्षामा विकासको गतिलाई व्यापक बनाउँदै प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण र उपयोग, पर्यटन प्रवर्धन र कृषि क्षेत्रमा यान्त्रिकरणको प्रयोगमार्फत् देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयले केन्द्रित हुनुपर्दछ । त्यसैगरी अलैँची, चिया, रुद्राक्ष, जडिबुटी, जुट, फलफूल लगायत नेपालका मौलिक उत्पादनहरूका बारेमा समेत सूक्ष्म शोध–अनुसन्धान गरेर त्यस्ता उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने कार्यमा यस विश्वविद्यालयले गुणात्मक योगदान दिने मैले विश्वास लिएको छु ।
अन्त्यमा पूर्वाञ्चल विश्वविद्यालयले यस सैँतीसौँ सभाले गरेका निर्णयहरूको रचनात्मक र दृढ कार्यान्वयनको निर्देशनसहित सभा बिसर्जन गर्दछु । धन्यवाद ।