काठमाडौं । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवाको सम्बन्धमा घूस संवादमा नाम लिइएका भूमिमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभामा जवाफ दिएका छन् । मन्त्री अधिकारीले आफ्नो नाम लिइएको तर त्यसमा आफू र मातहतका कोही पनि नजोडिएको प्रष्टिकरण दिएका हुन् । माओवादी सांसद माधवप्रसाद सापकोटाले घूस संवादको अडियोबारे प्रश्न गरेका थिए ।
सापकोटाले मन्त्री अधिकारीलाई सोधेका थिए, सामान्य प्रशासनमन्त्रीको अडियो आएको छ । त्यो अडियोमा केही विषयका साथ तपाईंलाई समेत संगीन आरोप लगाएका छन् । तपाईंले भनेकै जस्तो संलग्नता होइन भने आजका दिनसम्म किन खण्डन गर्नु भएन र अझै चित्त बुझ्दो जवाफ किन आएन ?
जवाफमा मन्त्री अधिकारीले कास्की जिल्ला वा अन्य जिल्लाको भूमि समस्या समाधान आयोगको अध्यक्ष चयनमा कुनै अनियमितता नभएको दाबी गरे । हाम्रो मन्त्रालय र मसँग जोडिएर केही कुराहरू आएको, अध्यक्ष चयन गर्ने सन्दर्भमा कतै मन्त्री पनि जोडिएका छन् कि भन्ने प्रसंगमा आयोग या आयोगका कुनै सदस्यहरू बनाउने सन्दर्भमा ममात्र होइन मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले कहीँ कतै त्यस्तो कारोबार र डिल गरेको छ भने यथार्थता ल्याइदिनुस् कानुनी बारबाही भोग्न तयार छौ, मन्त्री अधिकारीले भने, अनावश्यक रूपमा हल्ला गरेर कसैको चरित्र हत्या गर्ने र कसैलाई बदनाम गराएर काममा अवरोध गर्ने यहाहरू लाई नलाग्न अनुरोध गर्न चाहन्छु ।
कसैले गरेको कुराका आधारमा प्रश्न नगर्न पनि मन्त्री अधिकारीको भनाइ थियो । उनले कसैले गरेका कुराका आधारमा आफूलाई नमुछ्न अनुरोध गरेका थिए । उनले भने,जुन औँलामा विष लाग्छ त्यै औँलो झर्छ, यहाँहरूले त्यो कुरालाई बुझ्नुहुनेछ ।