काठमाडौं । गण्डकीमा अहिले अलपत्र योजनाको चाङ छ । सरकारले नै राखेको विवरणमा २२ भन्दा बढी योजना रुग्ण भएर थलिएको छ । केही योजनामा प्रगति भएपनि धेरै योजना अलपत्र हुने अवस्थामा पुगेको छ । खासगरी सडक र सडक पुलका योजना अलपत्र परेका हुन् । बहुवर्षे योजना र स्रोत सुनिश्चित भएकै योजनाहरूमा समस्या बढी देखिएको छ । धेरै योजनामा निर्माण व्यवसायीलाई दोषी देखाइए पनि कतिपय योजनामा सरकारकै कारण अलपत्र बनेका छन् ।
धेरै विकास आयोजनाहरू समयमा सम्पन्न नहुने र अलपत्र बन्ने समस्याका बिच तनहुँको भिमादमा तोकिएको म्यादभन्दा १३ महिना अघि नै पक्की पुल निर्माणको काम सकिएको छ । भिमाद नगरपालिका–१ डुम्रीबेंसीस्थित कुलुङ खोलामा सम्झौता म्याद भन्दा अघि नै पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । श्री ज्वालामुखी कन्स्ट्रक्सन धादिङले २०८१ असार १० गते सम्झौता गरेर २ वर्षभित्र सम्पन्न गर्ने म्याद पाएको थियो ।
तर गत असारमै पुल सम्पन्न भैसकेको कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । ७४ दशमलव २० मिटर लामो पुल गण्डकी प्रदेश सरकारको ७ करोड ५३ लाख ६४ हजार लागतमा निर्माण भएको हो । पुल निर्माणका लागि ११ करोड २७ लाखको लागत अनुमान गरिएको थियो ।
पुल निर्माण भएसँगै त्यस क्षेत्रका बासिन्दा तथा सवारी चालकहरू उत्साहित भएका छन् । कार्यालय प्रमुख तिवारी निर्माण व्यवसायीले चाहे समयअघि नै काम सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको बताउँछन् ।