काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो । खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण र खानेपानीको सुविधा पुर्याइएको हो ।
समितिका संस्थापक राजु पुनले पाउद्वार र छिमेकी गाउँबासी तथा भक्तजनहरूले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेको जानकारी दिए । सेवा निवृत्त बेलायती गोर्खा सैनिक पुनको अगुवाइमा विसं २०७२ देखि पाउद्वार–खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण अभियान थालिएको थियो ।
सत्र जना दाताको सहयोगमा पाउद्वार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको उनको भनाइ छ । भिरालो पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएपछि स्थानीयवासी, भक्तजन र पर्यटकहरूलाई आवतजावतमा सहज भएको पाउद्वारका बासिन्दा हरिप्रसाद तिलिजाले बताए । दाताको सहयोगमा विभिन्न ठाउँमा आश्रय स्थल र खानेपानीको व्यवस्था मिलाइएको छ ।
अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ । गाउँमा नभएका दाताहरूले समितिको सहजीकरणमा स्थानीय मजदुर परिचालन गरेर पदमार्ग र पूर्वाधार बनाउने गरेका छन् । पदमार्ग र चौतारामा निर्माणकर्ताको विवरण खुलाएर शिलालेख राखिएको छ ।
अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खोप्रा, खयर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणमा सरकारी निकायको तुलनामा समुदायको बढी लगानी भएको बताए । सो क्षेत्रको पूर्वाधार निर्माणमा पर्यटन तथा उद्योग कार्यालयमार्फत पछिल्लो दुई वर्षयता रु ३२ लाख, अन्नपूर्ण गाउँपालिकाबाट करिब २० लाख बजेट खर्च भएको छ ।
स्थानीयवासीले ‘खयरभारानी’ भन्ने खयरबाराही तालमा जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्छ । खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र आटे, मागेको पूरा भएपछि बली चढाउने चलन छ । जनैपूर्णिमाका दिन करिब एक हजार दुई सय जना भक्तजन खयरबाराही पुग्ने गर्छन् ।
जनैपुर्णिमा बाहेकका दिनमा ताल र यस क्षेत्रको अवलोकनका लागि पर्यटकहरू पुग्ने गर्छन् । पाउद्वारादेखि खयर जाने बाटोमा पर्ने खोप्रा लेक पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भएको छ । समुन्द्री सतहदेखि तीन हजार छ सय ६० मिटर उचाइको खोप्रा लेकबाट धौलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
पर्यटन क्षेत्रमा खोप्राको नामले चिनिएको यो ठाउँलाई स्थानीयवासी ‘खोपारा’ भन्ने गर्छन् । खोप्रामा पाउद्वार सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ । चौँरी र भेडा बाख्राको घुम्ती गोठ पनि खोप्रा, खयर क्षेत्रको आकर्षण हो । पाउद्वारादेखि एक दिनमा खोप्रा र दुई दिनको पैदल यात्रामा खयरबाराही तालमा पुग्न सकिन्छ ।