काठमाडौं । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग करिब ७१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । नेपालमा विभिन्न क्षेत्रका ५७ वटा राष्ट्रबाट प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आएको र तीमध्ये उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण ०७८-७९ ले देखाएको छ ।
विदेशी लगानीका कम्पनीको क्षमता उपयोग ७१.१, नाफाको दर १४.३ प्रतिशत, समग्रमा विदेशी लगानीमा सञ्चालित उद्योगहरूको नाफाको दर औसत १४.३ प्रतिशत रहेको पनि प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष ०७८-७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड कायम छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७, सञ्चिति ३१.७ र कर्जाको अंश १४.६ प्रतिशत छ । ‘०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी छ ।
यसमध्ये भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड र त्यसपछि चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा छ ।’
अघिल्ला प्रायः वर्षमा नेपाल भित्रिने वैदेशिक लगानीको तुलनामा सोही अवधिमा नेपालबाट बाहिरिने लाभांशबापतको रकम धेरै रहँदै आएको थियो । तर आर्थिक वर्ष ०७८÷७९ मा लाभांशबापत बाहिरिनेभन्दा भित्रिने विदेशी लगानी धेरै रहेको सर्वेक्षणले देखाएको छ । यसअनुसार आर्थिक वर्ष ०७८-७९ मा विदेशी लगानीमा रहेका कम्पनीले लाभांशबापत नेपालबाट १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ देशबाहिर लगेका छन् । सोही आर्थिक वर्षमा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो । उक्त वर्ष ५४ अर्ब १५ करोड ८९ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो । प्रतिबद्धताको तुलनामा ३४.३ प्रतिशत मात्रै प्रत्यक्ष विदेशी लगानी भित्रिएको हो ।
आर्थिक वर्ष ०७७÷७८ मा लाभांशबापत २६ अर्ब ७ करोड ६० लाख र आर्थिक वर्ष ०७६÷७७ मा १२ अर्ब ९० करोड ३० लाख रुपैयाँ लाभांश बाहिरिएको राष्ट्र बैंककको तथ्यांक छ । सर्वेक्षणका आर्थिक वर्ष ०७८÷७९ मा सबैभन्दा धेरै लाभांश उत्पादनमूलक उद्योगबाट बाहिरिएको छ । उक्त क्षेत्रबाट ७ अर्ब ३१ करोड ५५ लाख, सूचना प्रविधि क्षेत्रबाट ५ अर्ब ४० करोड २८ लाख, विद्युतीय क्षेत्रबाट १ अर्ब ६७ करोड ८१ लाख रुपैयाँ लाभांश बाहिरिएको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणका अनुसार ०७९ असार मसान्तसम्म ५७ मुलुकबाट नेपालमा वैदेशिक लगानी भित्रिएको छ । मुलुकमा हालसम्म कुल २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्येक्ष वैदेशिक लगानी भित्रिएको छ ।
औद्योगिक क्षेत्रमा एफडीआईको हिस्सा सबैभन्दा धेरै ६२ प्रतिशत र ३७ प्रतिशत सेवा क्षेत्रमा आएको छ । नेपाल भित्रिने एफडीआईको तुलनामा नेपालबाट बाहिरिने लाभांशबापतको रकम धेरै रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । ०७७-७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालितमध्ये १ सय ९७ कम्पनीको नमुना छनोट गरी राष्ट्र बैंकले सर्वेक्षण गरेको थियो । उक्त अवधिसम्म २ खर्ब २८ अर्ब बराबर एफडीआई मात्र लगानीमा रहेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, ०७७-७८ मा उल्लेख छ ।
सर्वेक्षणका अनुसार आर्थिक वर्ष ०७७-७८ मा नेपालमा कुल १९ अर्ब ५१ करोड रुपैयाा एफडीआई भित्रिएको छ । तर सोही आर्थिक वर्षमा विदेशी लगानीबापतको लाभांशका रूपमा मात्र करिब २६ अर्ब रुपैयाँ बाहिरिएको थियो । यसरी फिर्ता हुने विदेशी लगानी र हरेक वर्ष लाभांशबापत बाहिरिने रकम जोड्दा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने जानकार बताउँछन् । हरेक वर्ष नेपाल भित्रिने एफडीआई सोही वर्षको मात्र हुने तर उक्त अवधिमा लाभांशका रूपमा बाहिरिने रकम हालसम्मको सबै एफडीआईको भएकाले भित्रिनेभन्दा बाहिरिने रकम धेरै देखिएको हुन सक्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।
गत आर्थिक वर्षमा भने सबै महिनामा विदेशी लगानी उच्च दरले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानी करिब ६८ प्रतिशतले घटेर ५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्ष खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब ६५ करोडले विदेशी लगानी धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड ऋणात्मक थियो ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष ०७८-७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २ सय ३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणका आधारमा प्रतिवेदन तयार पारेको जनाइएको छ । आजको कान्तिपुरमा खबर छ ।