बेइजिङ । चीनका शीर्ष कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले आफ्ना जर्मन समकक्षीलाई बर्लिनले ‘माइक्रोफोन कूटनीति’ अपनाउन नहुने चेतावनी दिनुभएको छ । उहाँको यो टिप्पणी केही हप्ता अघि जर्मन विदेशमन्त्रीको चीन भ्रमण स्थगित भएको घटनापछि आएको हो ।
जर्मनीले गत अक्टोबरमा विदेशमन्त्री जोहान वाडेफुलको चीन भ्रमण बैठकको तालिका मिलाउन नसकिएका कारण स्थगित गरिएको जनाएको थियो । जर्मन विदेश मन्त्रालयका प्रवक्ताले भनेका थिए, “चिनियाँ पक्ष अन्ततः विदेशमन्त्रीसँग मात्र भेटको व्यवस्था गर्न सक्षम भयो, अन्य कुनै अतिरिक्त बैठकको पुष्टि गर्न सकेन ।”
वाडेफुलले उक्त भ्रमणमा विशेष गरी दुर्लभ पृथ्वी तत्व र अर्धचालक (सेमिकन्डक्टर) जस्ता चिनियाँ व्यापार प्रतिबन्धका विषयमा चिनियाँ अधिकारीहरूसँग छलफल गर्ने इच्छा व्यक्त गर्नु भएको थियो । तर सोमबार विदेशमन्त्री वाङ यीले फोनमार्फत वाडेफुलसँग संवाद गर्दै जर्मनीलाई ‘तथ्यविपरीत आरोप’ नलगाउन आग्रह गर्नुभयो ।
चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार वाङले भन्नुभयो, “बर्लिनले ‘माइक्रोफोन कूटनीति’ अपनाउनु हुँदैन । चीन र जर्मनीले आपसी सम्बन्ध सधैँ सही दिशामा रहोस् भनेर थप स्थिर र दिगो नीतिगत ढाँचा निर्माण गर्न आवश्यक छ ।” चीन र जर्मनी विश्वका दोस्रो र तेस्रो ठुलो अर्थतन्त्र भएका देश हुन् र दुवैबिच परम्परागतरूपमा विशेष गरी आर्थिक क्षेत्रका विषयमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ ।
तर पछिल्ला वर्षमा व्यापारिक प्रतिस्पर्धा, मानव अधिकारका विवाद र बेइजिङको ‘अनुचित व्यापार अभ्यास’ सम्बन्धी आरोपका कारण द्विपक्षीय सम्बन्धमा तनाव देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका उच्च कर र चीनले दुर्लभ पृथ्वी तत्व तथा माइक्रोचिप जस्ता प्रमुख सामग्रीको निर्यातमा लगाएको नियन्त्रणका कारण जर्मन उद्योग प्रभावित भएका छन् ।
