काठमाडौं । नेपालमा पछिल्लो समयमा विद्युतीय सवारी कार,जीप ,भ्यान आयात बढेको छ । १० महिनामै विद्युतीय सवारीको आयात १४ गुणाले बढेको हो ।भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९,८० को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको छ ।
चालू आवको १० महिनामा २ हजार ९५५ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । बैशाख मसान्तसम्ममा ८ अर्ब ४१ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ ।
जुन चालू आवको पहिलो अर्थात साउन महिनाको तुलनामा १४ गुणाले बढी हो । साउन महिनामा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको २११ वटा विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।
चालू आवको बैशाख महिनामा मात्रै थप ५०४ वटा सवारी नेपाल भित्रिएको तथ्याङ्कले देखाउँछ । जुन हालसम्मकै उच्च हो । गत आवको बैशाख मसान्तसम्मको तुलनामा पनि विद्युतीय सवारी आयात ९०.५२ प्रतिशतले वृद्धि भएको छ । गत आवको समिक्षा अवधिमा १ हजार ५५१ वटा विद्युतीय गाडी आयात भएको थियो । गत आवको सो अवधिमा ४ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।