Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

मातातीर्थमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न,त्रिशूली र मर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गरिने


मातातीर्थमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न,त्रिशूली र मर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्स्याङदी काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०-१३२ केभीको सबस्टेसन निर्माण सकिएको जनाएको छ । त्रिशूली र मर्स्याङदी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न मातातीर्थ २२०-१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।

देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन निर्माण गरिएको सबस्टेसनको क्षमता ३२० एमभिए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब बनेको प्राधिकरणको दाबी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणको सफलतापूर्वक परीक्षण गरिएको जानकारी दिए ।

मर्स्याङदी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङदी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ । उक्त प्रसारण लाइनलाई २०७९ असारबाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको हो । आयोजनाअन्तर्गत नै मार्कीचोकमा २२०-१३२ केभी सबस्टेसन निर्माणाधीन छ । त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौंमा ल्याउन त्रिशूली-काठमाडौं २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । मर्स्याङदी-काठमाडौं र त्रिशूली-काठमाडौं प्रसारणलाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधानले मर्स्याङदी र त्रिशूलीबाट काठमाडौं उपत्यकामा भित्रिएको विद्युत्‌लाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रुपमा आपूर्ति हुने बताए । मातातीर्थबाट विद्युत्‌लाई १३२ केभी प्रसारण लाइनमार्फत हेटौंडातर्फसमेत प्रवाह गर्न सकिने उनको भनाइ छ । प्राधिकरणले चोभारमा १३२ केभीको सबस्टेनको निर्माण गरिरहेको छ । मातातीर्थबाट चोभारसम्मको १३२ केभी निर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

चोभारबाट ललितपुरको पाटनसम्म १३२ केभी भूमिगत प्रसारण लाइन र पाटनमा १३२ केभी सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको कार्यकारी निर्देशक प्रधानले सुनाए । मर्स्याङदी-काठमाडौं प्रसारण लाइन आयोजना अन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको ठेकेदारको कार्यसम्पादन सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी काम गर्न २०७७ पुसमा नयाँ ठेक्का लगाएको थियो । सरकार र प्राधिकरणको लगानीसँगै एसियाली विकास बैंकको सहुलितपूणर् ऋणमा आयोजना सुरु गरिएको थियो । दुईवटा सबस्टेसनको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ छ ।