काठमाडौं, भदौ ७। पहिरोले म्याग्दीको दाना र पर्वतको कुस्मा खुर्कोट सवस्टेसन जोड्ने २२० केभीए प्रसारण लाइनको टावरहरू जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठे, सुवा र खामभित्ता क्षेत्रका विधुतका हाईटेन्सन लाईनको टावरहरू पहिरोका कारण ढल्ने अवस्थामा पुगेका छन् । गुइठेको भीरबाट पहिरो झर्न थालेपछि प्लास्टिकले पहिरो छोपेर टावर जोगाउने प्रयास गरिएको छ । पहिरो निरन्तर बगिरहेको छ । पानी पर्दा झन् ठूलो पहिरो नझरोस् भनेर टावर जोगाउन हामीले त्रिपालले टावरको फेदलाई ढाकेका हौं, दानाका इन्द्रसिं शेरचनले भने, गुइठेको पहिरोले तल बेनी–जोमसोम सडकमा सास्ती दिएको छ ।
यात्रुको जीवन जोखिममा छ, माथि हाइटेन्सन लाइन ढल्ला भन्ने त्रास छ । त्यसैगरी सोही वडाको सुवा गाउँमा पर्ने एउटा टावर पहिरोले लच्केको छ भने अन्य तीन टावरहरू पनि जोखिममा छन् । दाना –कुस्मासम्मको ४२ किमि खण्डका १ सय १४ टावरमध्ये १६ वटा टावर नदी कटान र पहिरोको कारण उच्च जोखिममा छन् । दाना क्षेत्रमा मात्र नभई अन्नपूर्ण–२ भुरुङको नौनीबगर र वडा ७ को महभीर क्षेत्रमा पनि पहिरोले टावर ढल्ने अवस्थामा पुगेका छन् ।
त्यस्तै, पर्वतको जलजला गाउँपालिकाको मिलनचोक नजिकै पनि टावर पहिरोको जोखिममा छन् । कालीगण्डकी करिडोरमा निर्माणाधीन बेनी–जोमसोम सडकसँग राइट अफ वे’ विवादपछि हाइटेन्सन लाइनहरू सडकदेखि पर बस्ती लैजानुपरेको र भिराला पाखामा परेका टावर बनाउन पहुँच मार्ग बनाउँदा झन् बढी पहिरो गएको मानिन्छ ।
विद्युत् प्राधिकरणले दाना र खुर्कोट २२०,१३२,३३,११ केभीए कालीगण्डकी करिडोर प्रसारण लाइनले मुस्ताङ म्याग्दी समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्षेत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र बागलुङ जिल्लाका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पर्वतको खुर्कोट सवस्टेसनमा जोडेपछि खुर्कोट–बर्दघाट खण्डको प्रसारण लाइनबाट बिजुली लैजाने प्राधिकरणको योजना रहेको छ । दाना सवस्टेनमा जोडिएको प्रसारण लाइनमा अहिले अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङस्थित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ५ मेवा क्षमताको घलेम्दी मुस्ताङको थासाङको १३.६ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिने छ ।