काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल । झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू । चिटिक्क परेका घरहरूमा बसोबास गर्ने नेपालका अल्पसङ्ख्यक थकाली समुदायको भाषा, संस्कृति, रहनसहन र जीवनशैली । गाउँको डिलमा बगैँचासहितको उद्यानमा बसेर स्याउका दाना र नाउरको प्रतिमाको पृष्ठभूमिमा देखिने हिमाल, नदी र बस्तीहरू ।
यी दृश्यहरू मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा पर्ने स्याङगाउँका हुन् । जोमसोम बजारको नजिकैको स्याङ संस्कृति र प्रकृतिको सङ्गम हो । बीच भागमा रहेको बेनी–जोमसोम–कोरला सडक भएर बर्सेनि लाखौँ पर्यटक मुस्ताङ ओहोरदोहोर गर्छन् । जोमसोम र राष्ट्रिय सडक छेवैको स्याङगाउँमा पर्यटकको चहलपहल बढ्न नसकेकामा स्थानीयवासी चिन्तित बनेका घरपझोङ गाउँपालिका–३ का वडासदस्य वीरप्रसाद थकालीले सुनाए ।
आठवटा घरमा घरबास सञ्चालन भएको स्याङ गाउँमा सडक र पैदलमार्ग प्रयोग गरेर पुग्न सकिन्छ । पारिवारिक वातावरणमा थकाली खानाका परिकारको स्वाद चाख्न पाइने स्याङफोला सामुदायिक होमस्टेका सञ्चालक देवेन्द्र थकालीले बताए । थकाली खानाको परिकार देशविदेशमा प्रसिद्ध छ ।
अल्पसङ्ख्यक जातिमा सूचीकृत थकाली समुदाय स्वागत सत्कार र मिठो खानाका परिकार बनाउन सिपालु मानिन्छन् । स्याङवासीले मौलिक थकाली भाषा बचाएर राखेका छन् । बोलीचालीमा भरसक आफ्नै भाषा प्रयोग गर्छन् । एक सय १२ घर रहेको स्याङ गाउँको बीच भागमा गुम्बा छ । गाउँको डिलमा रहेको उद्यानमा रातो (रेड डेलिसियस) र पहेँलो (गोल्डेन डेलिसियस) जातको स्याउको प्रतिमा बनाइएको छ ।
सुन्दर, शान्त र रमणीय, सदरमुकामको नजिक भए पनि प्रचारप्रसारको कमीले स्याङ गाउँ ओझेलमा परेको ठहर गरेका स्थानीयवासी पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । हरेक वर्षको साउनमा लाग्ने खिला मेलालाई उनीहरुले संस्कृति संरक्षणका साथै पर्यटक भित्र्याउने माध्यम बनाउन थालेका छन् ।