Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मनाङमा बढ्न थाले आन्तरिक पर्यटकको संख्या


मनाङमा बढ्न थाले आन्तरिक पर्यटकको संख्या

काठमाडौं, हिमाली जिल्ला मनाङमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको गन्तव्य स्थान बनेको छ। विगतमा बाह्य पर्यटक बढी आउने मनाङमा अहिले आन्तरिक पर्यटकको आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङले बताएको छ। एक्यापले बाह्य पर्यटकको संख्या संकलन गर्ने भए पनि आन्तरिक पर्यटकको संख्या टिपोट गर्ने गरेको छैन। बाह्य पर्यटकले पदयात्रा बढी मन पराउँछन् भने आन्तरिक पर्यटक सवारीसाधनमार्फत मनाङ पुग्ने गर्छन्।

मनाङ ङिस्याङ गाउँपालिका पिसाङका याङडुङ गुरुङले पहिले विदेशीलाई मात्र पर्यटक मान्ने गरे पनि अहिले आन्तरिक पर्यटक विदेशीभन्दा दोब्बर आउने गरेको बताए। उनले भने, ‘पहिले विदेशी मात्रै हुन्थे, अहिले विदेशीसँगै नेपाली पर्यटक धेरै आउँछन्, पर्यटक बढ्दा राम्रै भएको छ। पर्यटकीय सिजन सुरु भएसँगै अहिले अन्नपूर्ण पदमार्गको मनाङमा विदेशी र आन्तरिक पर्यटक बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए। उनका अनुसार दैनिक रूपमा ८० भन्दा बढी पर्यटक मनाङ आउने गरेका छन् ।

उनले भने, बिस्तारै यहाँ आउने पर्यटक बढ्दै गएका छन्, यहाँका होटेल पूर्ण रूपमा भरिभराउ हुने गर्छन्।मनाङ क्षेत्रमा पदयात्रीहरू विशेष गरेर थोराङ्ला पास, लार्केपास, कालापास, विश्वकै अग्लो स्थान ४,९१९ मिटरमा रहेको तिलिचो तालको अवलोकनका लागि आउने गर्छन्। अन्नपूर्ण पदमार्गमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा अत्यधिक पर्यटक आउने गर्छन्।लमजुङको सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वार मानिन्छ।

त्यहाँबाट पर्यटक खुदी, भुलभुले, ङादी, स्याँगे, जगत् हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ्ला पास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानी भएर पोखरा निस्कन्छन्। पदयात्रा सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको ५ हजार ४ सय १६ मिटरको थोराङ्ला भञ्ज्याङ पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन्। अन्नपूर्ण पदमार्गसँगै समुद्री सतहबाट सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल पुग्ने पर्यटक पनि धेरै भित्रिने गर्छन्।