Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दशैंमा नेपाल एअरलाइन्सले नेपालगन्जबाट हिमाली जिल्लामा दैनिक उडान सञ्चालन गर्ने


दशैंमा  नेपाल एअरलाइन्सले नेपालगन्जबाट हिमाली जिल्लामा दैनिक उडान सञ्चालन गर्ने

काठमाडौं,नेपाल एयरलाइन्सले दशैंमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ।नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मानबहादुर चौधरीले आगामी मङ्गलबारदेखि केही दिनसम्म हिमाली जिल्लामा दैनिक उडान गर्ने तालिका बनाइएको बताए। उनले दशैंमा नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा जाने यात्रुहरू तथा त्यहाँबाट नेपालगन्ज लगायतका स्थानमा फर्किने यात्रुका लागि दैनिक उडानको योजना बनाएको बताएका छन्।

कार्यालय प्रमुख चौधरीका अनुसार नेपालगन्जबाट कर्णालीका हुम्ला र मुगुमा मङ्गलबारदेखि शनिबारसम्म पाँच दिन नियमित उडान गरिनेछ। त्यसैगरी नेपाल एयरलाइन्सले नेपालगन्जदेखि नै डोल्पा, जुम्ला र बाजुरामा मङ्गलबारदेखि शुक्रबारसम्म चार दिन नियमित उडान गर्नेछ। नेपालीहरूको महान पर्व दशैं, तिहारमा दुर्गमका जिल्लामा जान यात्रुहरूले दुःख पाउने भएकाले उनीहरूको सहजताका लागि केही दिन हिमाली जिल्लामा नियमित उडान गरिने भएको हो। संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले यात्रुहरूको सहजताका लागि उडान थप्न निर्देशन दिएपछि थप उडान राखिएको कार्यालय प्रमुख बताए। नेपाल एयरलाइन्सको हवाइ टिकट अनलाइन र सम्बन्धित कार्यालयमा पुगेर यात्रुहरूले लिनसक्ने व्यवस्था मिलाइएको नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जले बताएको छ।

हिमाली जिल्लामा जान यात्रुहरूको चाप बढेपछि दैनिक नियमित उडान राखिएको बताइएको छ। यी हिमाली जिल्लाहरूमा सडक यातायात भरपर्दो नहुँदा हवाइ यातायात नै आवत जावतको मुख्य विकल्पको रूपमा रहेको छ। यसअघि नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिमका जिल्लामा हप्तामा कतै एक र कतै दुई दिन उडान गर्दै आएको थियो। तर अहिले दसैँलाई मध्यनजर गर्दै एयरलाइन्सले उडान थप्दै सबै हिमाली विमानस्थलमा दैनिक उडानको तालिका राखेको छ। निजी एयरलाइन्सहरूले समेत नेपालगन्जबाट यी सेक्टरमा उडान गरे पनि पप्र्यात मात्रामा जहाज नहुँदा तराईबाट घर फर्किने र हिमाली जिल्लाबाट चाडवाड मनाउन घर फर्किने कर्मचारीहरूले सास्ती भोग्दै आएका छन्।

दशैं नजिकिँदै गर्दा सिमकोटबाट नेपालगन्ज आउने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ। नियमित रूपमा उडान नहुनु, टिकट महँगो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो। हुम्लाको सिमकोट जानका लागि टिकट खोजीरहनु भएका सिमिकोटका जीवन परियारले हुम्ला जाने टिकट नपाएर यहीँ बस्नुपरेको बताए। उनले ११ दिनदेखि टिकटको खोजी गरिरहेपनि अझैसम्म पाउन नसकेको गुनासो गरे।

दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि परियारले टिकट सकिएको जवाफमात्र पाउने गरेको बताउनु भएको छ।हुम्लाका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले मात्र दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको बताएको छ।नेपाल एअरलाइन्सले उडान भर्न सुरु गरेपछि चाडपर्वका लागि आवागमन गर्ने यात्रुलाई सहज हुने विश्वास गरिएको छ ।