Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कालमोचन टेकु दोभान क्षेत्रः दोस्रो चरणमा पुननिर्माण भएका सम्पदा हस्तान्तरण हुने प्रक्रियामा


कालमोचन टेकु दोभान क्षेत्रः दोस्रो चरणमा पुननिर्माण भएका सम्पदा हस्तान्तरण हुने प्रक्रियामा

काठमाडौं । २०७२ सालको भूकम्पले भत्किएका तथा जीर्ण भएका सम्पदामध्ये थापाथली – टेकुदोभान नदी किनाराका थप १३ वटा संरचनाको सवलीकरण तथा पुननिर्माण सम्पन्न भएको छ । एशियन विकास बैङ्कको ऋण सहायताबाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजना कार्यान्वयनमा ल्याएको हो ।

३ चरणमा कार्यान्वयन गरिएको परियोजनामा जीर्ण सम्पदाको पुनःनिर्माण, सवलीकरण (रेक्टोफिटिङ्), मर्मत सम्भार तथा सौन्दर्य वृद्धि गर्ने काम भइरहेको हो । यसमा लागतको ५० प्रतिशत नेपाल सरकारले व्यहोरेको छ । बाँकी ५० प्रतिशत एशियाली विकास बैङ्कको ऋण सहयोग हो ।

यसअन्तर्गत पहिलो चरणमा पुननिर्माण तथा सवलीकरण गरिएका ११ वटा संरचना गुठी संस्थानलाई हस्तान्तरण भइसकेका छन् । दोस्रो चरणमा पुननिर्माण भएका सम्पदा हस्तान्तरण विषयमा आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बस्यो । पहिलो चरणमा हस्तान्तरण भएका सम्पदाहरुको उपयोग भएको छैन । दोस्रो चरणमा पुननिर्माण भएका सम्पदा कसरी हस्तान्तरण गर्ने, यसको दायित्व कसमा रहन्छ? बैठक यही विषयमा केन्द्रीत थियो ।

यस क्षेत्रम सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदा छन् । ती मूर्त सम्पदाहरुको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति र परम्परासँग सम्बन्धित छन् । सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित कथा छन् ।

मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको ठाउँ हो । प्रमाणित तथ्य र प्रामाणिक अभिलेख नभएका सम्पदासँग जनश्रुति र कथनसँग सम्बन्धित कथा छन् । २ किलोमिटर दुरीभित्र भएका भकारी, अखडा, मन्दिर, घाट, देवलका चाखलाग्दा पक्ष कलाकारिता, सभ्यता र पर्यटनबाट उजागरका लागि स्रोत हुन् । यसरी हेर्दा नदी खण्डलाई मूर्त, अमूर्त र प्राकृतिक सम्पदाको त्रिवेणी मान्न सकिन्छ ।

पहिलो चरण: पुनःनिर्माणपछि हस्तान्तरण भइसकेका
परियोजनाको पहिलो चरणमा पुननिर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण भइसकेका   छन् । ३८ करोड ८२ लाख ६२ हजार १७६ रुपैयाँ लागतमा निर्माण भएका सम्पदाका लागि एशियाली विकास बैङ्क र नेपाल सरकारको आधा आधा रकम छ । यसको निर्माण पक्ष बीकेओआइ पचली भैरव हो ।

हस्तान्तरण भएका मानन्धर सत्तल, मुन्सी घाट सत्तल, पञ्चनारी घाट निजी गुठी हुन् । शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, राजभण्डारी सत्तल, पुरोहित घाट सत्तल, वेस्ट सत्तल गुठी संस्थानलाई हस्तान्तरण गरिएको हो ।

दोस्रो चरण सवलीकरण सम्पन्न:हस्तान्तरण गर्ने प्रक्रियामा
दोस्रो चरणमा ४८ करोड ६४ लाख १६ हजार १९२ रुपैयाँ लागतमा १३ वटा सम्पदा संरचना पुनःनिर्माण सम्पन्न भएका   छन् । यीमध्ये माथेमा सत्तल निजी गुठी हो । अहिलेसम्म यसका गुठीयार सम्पर्कमा आएका छैनन् । त्रिपुरेश्वरमा रहेको धर्मशाला नेपाल प्रहरीले प्रयोग गरिरहेको छ । तीन देवल मन्दिर, नारायण सत्तल, शिव मन्दिर, सीताराम मन्दिर, हनुमान सत्तलको सवलीकरण भइसकेको छ । बम बिकटेश्वर परिसरको सीमा पर्खाल लगाइएको छ । यसकै प्रवेश द्वार, चौघेरा सत्तल, पञ्चलिङ्गेश्वर मन्दिर, कृष्ण शुभद्रा मन्दिर, शिव मन्दिर सवलीकरण भइसकेका छन् ।

तेस्रो चरण: काम गर्न बाँकी
तेस्रो चरणको काम ४५ करोड १३ लाख १२ हजार २८५ रुपैयाँ लागतमा भइरहेको छ । यसमा कालमोचन घाट सत्तल, बैरागी सत्तल, उदासी सत्तल र सन्यासी सत्तल पुननिर्माण भइरहेको हो ।