Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

लोप हुदै रैथाने बालीहरु !


लोप हुदै रैथाने बालीहरु !

अहिले गाउँका अधिकांस खेतहरु सुख्खा प्रायःछन् । किन भने, अधिकांस खेतबारीमा रैथाने हाईन विकासे विउविजनको हावि रहेको छ । मुख्यगरि हामीसंग नेपालमै उत्पादन हुने रैथाने बालीहरु लोपहुने अबस्थामा रहेछन् । आयातित बिउको प्रयोग बढेपछि नेपालका परम्परागत र रैथाने बाली संकटमा पर्न थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । विज्ञहरुका अनुसार नेपालमा हाल खेतीपातीमा प्रयोग हुने बिउ मध्ये झन्डै ९५ प्रतिशत हिस्सा आयातित बिउले ओगटेको छ ।

आयातित बिउको प्रयोग व्यापक हुन थालेपछि रैथाने बालीका ५० प्रतिशत जात लोप भइसकेको सम्वद्ध अधिकारीहरुले बताएका छन् । कृषि उपजमा परनिर्भरता बढ्दै जाँदा रैथाने बाली जोगाउनुपर्ने भएकाले सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ । कृषि उपजको उत्पादन बढाउनका लागि बालीको विकासे जातको प्रयोग गरिएकाले रैथाने बाली ओझेलमा पर्ने क्रम बढेको छ । मुलुकमा ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा गरिने खेतीपातीमा प्रयोग हुने बिउमध्ये ९५ प्रतिशत आयातित भएको विज्ञहरुको भनाई छ ।
रैथाने बाली के हो ?
परम्परागत रुपमा सदियौंदेखि कृषकले संरक्षण गर्दै आइरहेको कृषि बालीलाई रैथाने बाली भनिन्छ । मुलुकभर खाद्यन्न, कोशेबाली, फलफूल, फूल लगायत ३० हजार प्रकारको प्रजातिका रैथाने बाली रहेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) ले जनाएको छ । नेपालमा भएका रैथाने बालीमध्ये करीब ५० प्रतिशत बाली लोप भइसकेको छ । बाँकी ५० प्रतिशत बालीमध्ये पनि अधिकांश संकटमा परेका छन् । आयातित बिउलाई प्राथमिकता दिनु तथा आर्थिक र दक्ष जनशक्ति अभाव हुनु लगायत कारणले रैथाने बाली संकट परेको जीन बैंकका प्रमुख तथा बाली वैज्ञानिक डा.बालकृष्ण जोशी बताउनुभयो । ‘सबैको मानसिकतामा के सेट भयो भन्दा उत्पादन बढाउनुपर्छ, उत्पादन बढाउनलाई विकासे जात भनेर परिभाषित गरिएको छ,’ उहाँले भन्नुभयो, ‘विकासे जात चाहिन्छ भन्यो अनि रैथाने बालीलाई प्रथामिकता दिईएन । जसकारणले रैथाने जात करिब ५० प्रतिशत हराएको छ, बाँकी रहेका अधिकांश संकटमा छ ।’

रैथाने बाली पोषण र स्वास्थ्यका हिसाबले सबै भन्दा राम्रो
डा. रामकृष्ण श्रेष्ठ
प्रमुखः बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र
नेपालमा समुन्द्र सतहबाट करिब ६० मिटरदेखि ५ हजार मिटर उचाईसम्म रैथाने बाली पाइन्छ । रैथाने बालीबाट पानी र मल कम भए पनि उत्पादन लिन सकिने विज्ञहरुको भनाइ छ । सुख्खा, खडेरी, बढी तापक्रम, किरा र रोग सहन सक्ने क्षमता ती बालीहरुमा हुने बताइन्छ । यति मात्र नभएर रैथाने बालीले खाद्य सुरक्षा, पोषण सुरक्षा, स्वास्थ्य सुरक्षा , वातावारणीय र व्यावसायिक क्षेत्रमा टेवा समेत पु¥याउने बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले बताउनुभयो । ‘अधिकांश धान खेती हुने क्षेत्र तराई हो, तर यहाँ जमिन कम छ, करिब ८० प्रतिशत जमिन पहाडी क्षेत्रमा छ, यहाँ बढी रैथाने बाली पाइन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘त्यसकारणले खाद्य सुरक्षाको पहिलो महत्व छ, रैथाने बालीमा प्रोटिन र फाइबर ७ देखि १२ प्रतिशत बढी हुन्छ जुन पोषण र स्वास्थ्यका हिसाबले राम्रो छ ।’

मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३३ पालिकामा रैथाने बाली प्रवर्द्धन तथा संरक्षण कार्यक्रम सञ्चालन गरिएको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । जसमध्ये रैथाने बाली प्रवर्द्धनका लागि १ सय ६ पालिका र २७ वटा पालिकामा जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालनमा छन् । यसका लागि २८ करोड रुपैयाँ बजेट सो पालिकामा पठाइएको केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रका अनुसार रैथाने बालीको उत्पादन बढाउन प्रोत्साहन स्वरुप बिउ उपलब्ध गराउने, गोठ सुधार, प्रांगरिक र गोठे मल प्रयोग गर्ने, खेतीको प्राविधि तालिम दिने लगायत कार्य भइरहेको छ ।

रैथाने बालीको उत्पादन लागत बढी हुने भएकाले १ सय ३३ पालिकाले तोकेको क्षेत्रमा खेती गर्दा प्रति हेक्टर १८ हजार र प्रति रोपनी ९ सय रुपैयाँ अनुदान पाउने प्रमुख श्रेष्ठले बताउनुभयो । उत्पादित बाली बिक्रीमा किसानलाई प्रतिकिलो ३ रुपैयाँ र कम्पनीलाई २ रुपैयाँ अनुदान दिने गरेको छ । रैथाने बालीलाई प्रोत्साहन गर्न सार्वजनिक कार्यक्रम र गोष्ठीहरुमा ती बालीबाट बन्ने परिकार प्रयोग गर्न समेत सुझाव दिन्छन् । श्रेष्ठले भन्नुभयो, ‘सार्वजनिक सभा सम्मेलन, गोष्ठीहरुमा रैथाने बालीको विभिन्न परिकार बनाएर प्रयोग गर्ने, स्कूलको दिवा खाजाको रुपमा प्रयोग गर्ने, स्कूलको पाठ्यक्रममा समावेश गर्नुपर्छ ।’

विकासे जातको बिउ विकास गर्नकालागि पनि रैथाने बिउको संरक्षण आवश्यक
डा. मुकुन्द भट्टराई
बाली प्रजनन् वैज्ञानिक
रैथाने बाली संरक्षणका लागि मुलुकका विभिन्न स्थानमा सामुदायिक बिउ बैंक स्थापना गरिएको छ । ती बिउ बैंकले समुदायमा रहेका रैथाने बाली साटासाट गरी प्रयोग गर्ने र संकटमा रहेका बाली जीन बैंकमा संरक्षणका लागि पठाउने गर्दछन् । बिउ करिब १ सय देखि १ सय ५० वर्षसम्म संरक्षण गर्न सक्ने क्षमता जिन बैंकको छ । जीन बैंकको तथ्यांक अनुसार हालसम्म संरक्षण गरिएका रैथाने बालीको बिउ १० हजार २ सय ४८ छन् । संरक्षणका प्रक्रियामा रहेका बिउ ५ हजार छन् । यस्तै, अदुवा, लसुन, बेसार, पिडालु लगायत रिजेनेरेशन गर्न मिल्ने बिउ २ हजार संरक्षित छन् । यस्तै, नेपालमा पाइने रैथाने फलफूलको करिब १० हजार बिउ संरक्षण गरिएको बैंकले जनाएको छ ।

ती संरक्षित बिउ कुनै शुल्क नलिएर किसान, अध्ययनकर्ता र अनुसन्धानकर्तालाई करिब १ सयदेखि २ सय ग्रामसम्म उपलब्ध गराईने बैंकको दाबी छ । हाल बजारमा पाइने विभिन्न बालीका विकासे जातको बिउ विकास गर्नका लागि पनि रैथाने बिउको संरक्षण गर्नुपर्ने बैंकका प्राविधिक अधिकृत तथा बाली प्रजनन् वैज्ञानिक डा. मुकुन्द भट्टराईले बताउनुभयो । रैथाने बालीबाट हुने फाइदालाई ध्यान दिँदै कृषि उपजमा मुलुकको परनिर्भरता घटाउन सकिनेमा विज्ञहरुले जोड दिएका छन् । त्यसैले रैथाने बालीको उत्पादन बढाउन प्रभावकारी कदम चाल्नुपर्ने उनीहरुको सुझाव छ ।