राजविराज । सप्तरीको पश्चिम क्षेत्रको सुरुङ्गाा नगरपालिकाका महिला तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सुरुङ्गा नगरपालिका–९ टिकुलियाका महिलाले समूह बनाएर तरकारी खेती सुरु गरेका हुन् । महिलाको सक्रियतामा दिनाभद्री कृषक समूह बनाएर दलित समुदायका महिला यति बेला तरकारी खेतीमा लागेका छन् । पन्ध्र महिलाको समूहले तरकारी खेतीबाटै मनग्य आयआर्जन गरेका छन् । उनीहरुलाई ‘सेभ द चिल्ड्रेन’को सहयोगमा ‘सबल नेपाल’ संस्थाले बीउबिजन र मलखाद सहयोग गरेको छ ।
कृषक समूहकी अध्यक्ष कविताकुमारी सदाले विगतमा आफूहरु बेरोजगार बनेर घरमै बस्दैआएकामा हाल तरकारी उब्जाएर पैसा कमाउन थालेको बताइन । उनीहरुलाई सबल नेपालले तरकारी खेती गर्नेबारे तालिमसमेत दिएको छ । करिब १४ कट्ठा जग्गामा दलित महिला मिलेर तरकारी खेतीमा संलग्न छन् । उनीहरुले बिहान आफ्नो घरको काम सघाएर बाँकी समय तरकारी खेतीमा बिताउने गरेको सबल नेपालका कृषि अधिकृत आशिष चौधरीले बताइन ।
दिनाभद्री कृषक समूहका सदस्य ललिता सदाले समूहको तरकारी खेतीबाट आम्दानी गरेर आफ्नो घर व्यवहार चलाएर छोराछारीको पठाइ खर्चसमेत निकाल्ने गरेको बताइन । सिँचाइ अभाव रहेको बेला सबल नेपालले कृषि मिटर सहयोग गरेका कारण पानीको अभाव नहुँदा अहिले तरकारी खेती गर्न समस्या नभएको उनको भनाइ छ । उनीहरुले लौका, फर्सी, खुर्सानी, भन्टा, काँक्रो, प्याजलगायत तरकारी उत्पादन गर्दैआएका छन् । आफ्नै बारीमा उब्जेका तरकारी नजिकैको टिकुलिया हटियमा तरकारी आफैँ बसेर बिक्री गर्दा आम्दानी गर्न सकिएको समूहकी सदस्य तिलिया सदाको भनाइ छ ।