काठमाडौं । यो साता सेयर बजार ०.५ प्रतिशत घटेको छ । गत साता २७४८ मा रहेको बजार यो साता २७३४ अंकमा बन्द भयो । समग्रमा बजार साइडवेज ट्रेन्डमा देखिएको छ । यो साता ५ दिन नै कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार ९.९९ अंक घटेको बजार सोमबार १९.९७ र मंगलबार १७.८० अंक बढ्यो । त्यस्तै बुधबार २४.९७ र बिहीबार १५.९३ अंक घट्यो ।
कारोबार रकम साढे ८ देखि १० अर्बको बीचमा घुमिरहेको छ । आइतबार ८ अर्ब ८३ करोडको कारोबार भएकोमा सोमबार १० अर्ब ५४ करोड, मंगलबार ८ अर्ब ५२ करोड, बुधबार ९ अर्ब १३ करोड, बिहीबार ८ अर्ब ३६ करोडको कारोबार भयो ।
व्यापारमा उच्च वृद्धि, बैंकिङमा गिरावट
यो साता व्यापार सेक्टर सबैभन्दा धेरै करिब २० प्रतिशत बढ्यो । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी विशाल बजारको मूल्यमा आएको उच्च वृद्धिले व्यापार सेक्टरलाई बढायो ।
साल्ट ट्रेडिङ र विशाल बजार दुई कम्पनी मात्रै सूचीकृत रहेको यो सेक्टर विशाल बजार कम्पनीले नै चलाउँछ । साल्ट ट्रेडिङभन्दा विशाल बजारको पूँजीकरण १० गुणा बढी छ ।
त्यस्तै हाइड्रोपावर र जीवन बीमा पनि सामान्य बढे । तीबाहेक अरु सबै सेक्टर घटेका छन् । बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४८ प्रतिशत घट्यो ।
उच्च कारोबार भएका कम्पनी
यो साता कारोबार रकमका आधारमा नेपाल फाइनान्स अग्रस्थानमा रह्यो । एक सातामा यस कम्पनीको १ अर्ब ५८ करोडको सेयर कारोबार भएको छ ।
त्यसपछि क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप पावर, एक्सल डेभलपमेन्ट बैंक, जानाकी फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी, बेस्ट फाइनान्स, लाइफ इन्स्योरेन्स नेपाल र रसुवागढी हाइड्रोपावर रहे ।
कारोबार संख्याका आधारमा अगाडि रहेका कम्पनीमा नेपाल फाइनान्स, ङादी ग्रुप, आँखुखोला जलविद्युत्, हिमालयन रिइन्स्योरेन्स, जानाकी फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, युनिभर्सल पावर र ज्योति विकास बैंक क्रमशः रहे ।