काठमाडौं । गत आर्थिक वर्षमा १२ अर्ब रूपैयाँका विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा विभिन्न मोडलका ४ हजार ५० वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याइएका हुन् ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा विद्युतीय सवारी साधन झण्डै दोब्बर बढी आयात भएका छन् । भन्सार विभागका अनुसार अघिल्लो आवमा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका थिए । अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका छन् ।
सरकारले गत आर्थिक वर्षमा साना खालका विद्युतीय सवारी साधनको आयातमा कर छुट दिने निर्णय गरेसँगै साना क्षमताका विद्युतीय सवारी साधनको आयात ह्वातै बढेको देखिन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै ५० किलोवाट क्षमता मुनिका चार पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको देखिन्छ । ५० किलोवाट क्षमताका ३७ सय ५९ वटा विद्युतीय सवारी साधन (कार/जीप र भ्यान) भित्रिएका छन् । ती सवारी साधन खरिद गर्दा १० अर्ब ७८ करोड ८७ लाख १९ हजार रूपैयाँ खर्च गरिएको थियो । भन्सार विभागका अनुसार ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका २७२ वटा विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन् भने गत आर्थिक वर्षमा सबैभन्दा धेरै ५० किलोवाट क्षमता मुनिका चार पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको देखिन्छ ।
ती सवारी साधन आयात गर्दा ९४ करोड ६१ लाख ८४ हजार रूपैयाँ खर्च गरिएको थियो । १०१ देखि २ सय किलोवाट क्षमताका १५ वटा कार/जीप र भ्यान नेपालमा आयात भएका छन् । ती संख्याका सवारी साधन आयात गर्दा ७ करोड ९७ लाख ७६ हजार रूपैयाँ खर्च गरिएको थियो । त्यसैगरी २०१ किलोवाट क्षमताभन्दा माथिका ४ वटा विद्युतीय सवारी साधन आयात गर्दा २ करोड ६२ लाख १५ हजार रूपैयाँ खर्च गरिएको छ ।
गत आर्थिक वर्षमा ६ हजार ९ सय १४ वटा तीन पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका छन् । ती सवारीसाधन आयात गर्दा नेपालबाट ६७ करोड ६१ लाख ९० हजार रूपैयाँ खर्च गरिएको थियो । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भने २४९ वटा मात्रै विद्युतीय सवारीसाधन आयात भएका थिए ।