काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ सकिएको छ । पाँच दिनका लागि आयोजित एक्स्पोमा अवलोकनकर्ता बढेपछि नाइमाले एक दिन समय थपेको थियो ।
अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएको भन्दै उनीहरूको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि प्रदर्शन अवधि थपिएको नाइमाले जनाएको छ । एक्स्पोमा विभिन्न सवारीका ५० ब्रान्ड सहभागी थिए ।
प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक नयाँ गाडी सार्वजनिक गरिएको थियो । नाइमाका अनुसार प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय अवलोकनकर्ता सहभागी भए । यस्तै चौथो दिन २१ हजार ५ सय, पाँचौं दिन २२ हजार र छैटौं दिन ७ हजार ८ सय जनाले अवलोकन गरेको नाइमाले जनाएको छ ।
६ दिनसम्म चलेको एक्स्पो करिब एक लाख जनाले अवलोकन गरेको नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् । प्रायोजक नेसनल इन्स्योरेन्स र एभरेस्ट बैंकका साथै सबै साझेदारको सामूहिक योगदानले एक्स्पो सफल भएको वैद्यले जनाइन् ।
एक लाख हाराहारी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिताका साथै अवलोकनकर्ताको ऊर्जा, विचार, सहकार्य र जोस देख्दा नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकास गरेको अनुभव भएको वैद्यको छ ।