Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालबाट ११ अर्ब ८० करोडको विद्युत् भारतमा निर्यात


नेपालबाट ११ अर्ब ८० करोडको विद्युत्  भारतमा निर्यात

काठमाडौं । भारतले नेपालबाट पछिल्लो पाँच महीनामा ११ अर्ब ८० करोड रुपैयाँ बराबरको विद्युत् किनेको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत भारतले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् खरीद गरेको हो । देशभित्र खपत गरी बचत भएको विद्युत् प्राधिकरणले भारतीय बजारमा विक्री गर्दै आएको छ ।

प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतमा निर्यात गरेको छ । असोजमा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा विक्री भएको छ । तीन महीनामा भारतमा निकासी गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । गत जेठको पाँच दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको थियो । जेठ र असारमा भारत निर्यात गरिएको विद्युत्को औसत विक्रीदर प्रतियुनिट औसत ९ रुपैयाँ ६७ पैसा रहेको छ ।

साउन, भदौ र असोजमा भारत निर्यात गरिएको विद्युत्को औसत विक्रीदर प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत ५२२ र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड (एनभिभिएन)लाई विक्री गरिरहेको छ । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यमा विक्री गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्ष करीब १६ अर्ब रुपैयाँको विद्युत् निर्यात हुन सक्ने देखिएको बताएका छन् । ‘करीब १ सय मेगावाट थप विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरेका थियौं, तर अहिलेसम्म स्वीकृति नपाएपछि केही समयअघि पुनः प्रस्ताव पठाएका छौं, ’कार्यकारी निर्देशक घिसिङले भने, ‘चाडपर्व शुरू भइसकेको छ, यस अवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौंमा चिसो शुरू भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घट्छ, भारतबाट थप विद्युत् निर्यात स्वीकृति नपाउने हो भने विद्युत्गृह बन्द गर्नुपर्ने अवस्था आउन सक्छ, छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं ।’

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।