काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा नियमित कारोबार गर्ने ठूला लगानीकर्तालाई आयकरको दायरामा ल्याउने प्रतिबद्धता बताएका छन् । उनले बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वर्षभरीमा मुस्किलले ५,६ लाख आम्दानी गर्ने जागिरेले आयकर तिर्नुपर्ने, तर सेयरलाई नै पेशा बनाएर करोडौं करोड कमाउनेहरुले आयकर नतिर्ने परिपाटीको अन्त्य गरिने बताएका छन् ।
धनि र ठूला लगानीकर्ताले संगठित रुपमा सेयर बजारलाई प्रभावित पार्ने, राजनीतिक पहुँच बनाएर नीतिगत हस्तक्षेप गर्ने र कम्पनीहरुमा आफूमध्येका प्रतिनिधी पठाएर निर्णय प्रभावित पार्ने गलत अभ्यास मौलाएको प्रति सरकार सजग रहेको जनाउ दिएका छन् । अहिले ५०–६० लाख लगानीकर्ता खतम भए भनेर तिनीहरुले नै प्रचार गरिरहेका छन्, जो साँच्चै सेयर कारोबारलाई नै व्यवसाय बनाइरहेका छन्’ उनले भने ।
यसरी नियमित व्यवसाय नै सेयर कारोबारमा निर्भर भएका र आम्दानीको स्रोत नै सेयर बजार बनाएका लगानीकर्ताले आफ्नो हित साँध्न आयकरको दायरामै नआउने बहुसंख्यक लगानीकर्तामा भ्रम छरिरहेको आरोप लगाए । आम नागरिकमाथि दोहन गरेर धनिमानीलाई कर छुट दिने विद्यमान व्यवस्था अन्त्य गर्दै सट्टेबाजीबाट ठूलो आम्दानी गर्नेहरुलाई आयकरको दायरामा ल्याउनु आवस्यक भएको दलिल अर्थमन्त्री महतले प्रस्तुत गरेका छन् ।
मन्त्री महतले नियमति व्यवसाय गर्नेलाई आयकरको दायरामा ल्याउने भने पनि कतिसम्म रकमको कारोबार गर्ने र कति समयान्तरमा कारोबार गर्नेलाई करको दायरामा तान्ने भनेर परिभाषित गर्न बाँकी रहेको बताए । उनले सम्बन्धित निकायलाई त्यसबारे परिभाषित गर्न निर्देशन दिइसकेको भनेका छन् । आर्थिक विधेयक पारित भएपछि त्यसले आयकर ऐनमा भएको व्यवस्थालाई स्वतः संशोधन गर्ने छ । त्यसपछि आयकर नियमावलीमा यस व्यवस्थाको कार्यान्वयन कसरी गर्ने भनेर स्पष्ट गएिको छ ।