काठमाडौं । अर्थमन्त्री प्रकशशरण महतले अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन् । नाडा अटो शोको उद्घाटनमा बोल्दै उनले देशको अर्थतन्त्रमा सुधर हुँदै गएको बताएका हुन् ।
उनले भने, ‘नियम निकायले स–साना कुरामा हस्तक्षेप गर्नु भएन । घरजग्गाको कित्ताकाट खुलेकोले अब अर्थतन्त्र सहज हुँदै जानेछ । निजी क्षेत्रलाई विश्वासमा लिएर नै हामी काम गर्नेछौं । सबै तिरबाट सुधार हुँदैछ ।’
कार्यक्रममा बोल्दै उनले सेयर मार्केटमा समस्या आएकोले यसलाई सेफ ल्यान्डिङ गर्न जरुरी रहेको बताए । सरकारले ईभीलाई पनि प्राथमिकता दिएको बताउँदै उनले ईभीमा लागेको कर पनि धेरै नबढ्ने बताए । विगतमा लक्जरीको रूपमा हेरिने अटोमोबाईल क्षेत्रबाट अहिले सबैभन्दा बढी राजश्व संकलन भएको उनको भनाई छ ।
त्यस्तै, उनले चार्जिङ् स्टेशनलाई पनि विस्तार गर्दै लाने र अटोका सोरूमलाई मर्ज गर्नुपर्ने अवस्था देखिएको बताए । नेपाल राष्ट्र बैंकले साना–साना कुरामा हस्तक्षेप गरेको समेत उनको भनाई छ ।
नाडाका अध्यक्ष ध्रुब थापाले सरकारले अटोलाई विलासीको वस्तुको रुपमा हेरेकोले समस्या भएको बताए भने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्रमा समस्या आएको बताए ।