काठमाडौं । प्याजमा मूल्यबृद्धि भएपछि स्थानीय प्रशासनले अनुगमनलाई तिव्र बनाएको छ । सोमबार र मंगलबार उपत्यकाका तरकारी बजारमा स्थानीय प्रशासनले व्यापक अनुगमन गरेको थियो । तर, त्यो समय व्यापारिहरु भागेको स्थानीय प्रशासनले जनाएको छ ।
यसअघि वाणिज्य विभागले प्याजको कालोबजारी नियन्त्रण गर्न सबै जिल्ला प्रशासन र काठमाडौं उपत्यकाका स्थानीय तहहरुलाई पनि पत्राचार गरेको थियो । विभागको जनशक्ति मात्रै अपर्यप्त भएको भन्दै सबै जिल्ला प्रशासनलाई पत्राचार गरेर अनुमगन गर्न भनिएको छ । काठमाडौंका स्थानीय तहसँग भने समन्वयमै अनुगमन गरिने विभागले जनाएको छ ।
हाल विभागसँग मुश्किलले ३ देखि ४ वा टोलीले मात्रै दैनिक बजार अनुगमन गर्न सक्ने अवस्था रहेको छ । भारतले शनिबारदेखि लागू हुनेगरी आफ्नो मुलुकबाट प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने घोषणा गरेको थियो । नेपालको प्याजको ८० प्रतिशत बढी माग धान्न भारतबाटै आयात गरिन्छ । भारतको निर्णयबाट नेपाली भान्सामा सिधै असर परेको छ । गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो बढी प्याज आयात गरेको थियो ।
यसैबीच, काठमाडौंको कालीमाटी र बल्खु क्षेत्रका व्यापारीहरु वाणिज्य विभागको अनुगमन टोली आएको सुइँको पाएपछि भागेका छन् । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि व्यापारीहरुले कालोबजारी गरेको सूचनाका आधारमा विभागले सोमबार र मंगलबार अनुगमन गरेको थियो । सो क्रममा ५ ठूला प्याज कारोबारीहरु कर्मचारीलाई गोदामको जिम्मा लगाएर भागेका हुन् । ती मध्ये ३ वटा तरकारी पसल कालीमाटी र कुलेश्वरका छन् भने २ वटा बल्खुको भएको विभागले जनाएको छ ।
भागेका पसलेहरुको कागजात बरामद गरिएको वाणिज्य विभाागका महानिर्देशक गजेन्द्रप्रसाद ठाकुरले बताए । भारतले निर्यात महसुल लगाएपछि आयात भएको व्याज काठमाडौं आई नै नपुगी बजारमा मूल्य बढाइए पछि अनुगमन र कारबाही तीब्र पारिएको उनले दाबी गरे । बजारमा शनिबारसम्म किलोमा ६० रुपैयाँले कारोबार भइरहेको प्याजको मूल्य एक्कासी ८० रुपैयाँसम्म खुद्रामा पु¥याइएको अनुगमनको क्रममा भेटिएको विभागले जनाएको छ ।