काठमाडौं । सूचना तथा सञ्चार क्षेत्रमा नेपालले प्राप्त गर्दै आएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) उल्लेख्य मात्रामा वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष ०७७÷७८ मा सूचना तथा सञ्चार क्षेत्रमा १०.८५ अर्ब रुपैयाँ एफडीआई प्राप्त भएकामा आर्थिक वर्ष ०७८-७९ मा सूचना तथा सञ्चार क्षेत्रको एफडीआई १२.७३ अर्ब रुपैयाँ पुगेको हो । एक वर्षको अवधिमा कुल १७.३ प्रतिशतको वृद्धिलाई ठूलो मानिएको छ । गत साता सार्वजनिक नेपाल राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा कुल २ खर्ब ६४ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ एफडीआई भित्रिएकामा सेवा क्षेत्रको हिस्सा ३७.३ प्रतिशत छ । त्यसअन्तर्गत सूचना तथा सञ्चार क्षेत्रको हिस्सा भने ४८. प्रतिशत छ ।
सन् ०७७ मा सूचना तथा सञ्चार क्षेत्रमा १२.६१ अर्ब रुपैयाँ लगानी प्राप्त भएकामा सन् ०७८ मा १०.८५ अर्बमा झरेको थियो । यद्यपि अघिल्लो आर्थिक वर्षको तुलनामा ०७८-७९ मा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित सूचना तथा सञ्चार क्षेत्रका कम्पनीहरूले लाभांश फिर्ता लग्ने प्रतिशत घटेको छ । ०७७-७८ मा एफडीआई प्राप्त सूचना तथा सञ्चार क्षेत्रका कम्पनीहरूले कुल १३ अर्ब ९८ करोड रुपैयाँ लाभांश फिर्ता लगेकामा ०७८÷७९ मा ५ अर्ब ४० करोड रुपैयाँ लगेका छन् । उच्चतम लाभांश फिर्ता लैजानेमा उत्पादन क्षेत्रपछि सूचना र सञ्चार क्षेत्र दोस्रोमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । विदेशी लगानीका कम्पनीहरूले कुल १५.७ अर्ब रुपैयाँ लाभांश फिर्ता लगेको देखिन्छ । प्रतिवेदनअनुसार नेपालमा भारत, चीन, आयरल्यान्ड, सिंगापुर, सेन्ट किट्स एन्ड नेभिसलगायत ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । यीमध्ये सूचना तथा सञ्चार क्षेत्रमा चीनबाट १ अर्ब ६० करोड रुपैयाँ छ ।
एफडीआई कम्पनीहरूको हाल लगानीमा रहिरहेको विदेशी कर्जा कुल ६८.७ अर्ब रुपैयाँमध्ये सूचना तथा सञ्चार क्षेत्रको कर्जा २९ लाख छ । लगानीमा रहिरहेको कर्जामध्ये सबैभन्दा धेरै जलविद्युत् क्षेत्रले २८.४ अर्ब खर्च गरिसकेको प्रतिवेदनमा उल्लेख छ । चुक्ता पुँजीस्वरूप सूचना तथा सञ्चार क्षेत्रमा ४ अर्ब ९ करोड रुपैयाँ लगानी आएको छ भने वैदेशिक ऋण ४ अर्ब ३० करोड रुपैयाँ छ । यो क्षेत्रको सञ्चित लगानी ४ अर्ब ३२ करोड छ ।
पछिल्ला वर्षहरूमा नेपालको सूचना, सञ्चार एवं प्रविधि क्षेत्रमा क्रमशः प्रगति भइरहेका विवरण आइरहेका छन् । सूचना प्रविधि सेवा निर्यातबाट झन्डै खर्ब रुपैयाँ आम्दानी भइरहेकोबारे केही समयअघि सर्वांगीण विकास अध्ययन संस्था (आईआईडीएस) को प्रतिवेदनले देखाएको थियो । सस्तो, गुणस्तरीय र विश्वसनीय जनशक्तिका साथै दूरसञ्चार एवं सूचना प्रविधि पूर्वाधारमा भएको विकासले नेपाललाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा सम्भावना भएको देशका रूपमा चिनाइरहेको छ । यस्तोमा विभिन्न देशमा दर्ता भएका कम्पनीले नेपालमा शाखा कार्यालय खोल्नेदेखि स्थानीय आईटी कम्पनीहरूले आकर्षक वैदेशिक लगानी भित्र्याउने माहोल बनिरहेको छ । आजको कान्तिपुरमा खबर छ ।