काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । गत आर्थिक बर्षको यहि अवधिमा चालु खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको कार्तिकसम्मको मासिक प्रतिवेदन अनुसार अमेरिकी डलरमा चालु खाता बचत १ अर्ब ६ करोड पुगेको छ । जुन अघिल्लो वर्षको ७३ करोड ६ लाखको तुलनामा उच्च हो ।
यस्तै, शोधनान्तर स्थिति चालु आवको पहिलो ४ महिनासम्म २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ । गत आवको यहि अवधिमा १ खर्ब ५० अर्ब २४ करोड रहेको यस्तो बचत चालु आवमा बढेको हो ।
अमेरिकी डलरमा पनि यो बचत १ अर्ब ५३ करोड पुगेको छ, अघिल्लो वर्ष यो १ अर्ब १३ करोड थियो । यसरी शोधनान्तर स्थिति र चालु खाताले देशको वित्तीय स्थिति सुधारतर्फ उन्मुख रहेको संकेत दिएको छ।
यस्तै खुद पुँजीगत ट्रान्सफर २ अर्ब ४७ करोडमा पुगेको छ, गत वर्ष यो यस्तो ट्रान्सफर १ अर्ब ५९ करोड रहेको थियो। प्रत्यक्ष वैदेशिक लगानीतर्फ पनि सुधार देखिँदा चालु आवको पहिलो ४ महिनामै ५ अर्ब ७६ करोडको ईक्विटी लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ६५ करोडको तुलनामा उच्च बढी हो ।