विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आज देखि अनिश्चित्कालका लागि निषेधाज्ञा जारी गरिएको छ ।
शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि त्यहाँ अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो ।
कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै विराटनगरमा आजदेखि निषेधाज्ञा गरेको छ ।
निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, ¥याली, धर्नाजस्ता कार्यक्रममा रोक लगाईएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।
विराटनगरको पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।