काठमाडौं, १२ जेठ । चालु आर्थिक वर्ष १० महिनामा वाणिज्य बैंकहरुबाट जम्मा १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षको अन्त्य अर्थात असार मसान्तसम्म कुल ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा चालु आर्थिक वर्ष वैशाख मसान्तसम्म ४२ खर्ब ९८ अर्ब ६१ करोड प्रवाह भएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर १२।६ प्रतिशत रहने अनुमान गरेको थियो । तर १० महिना पुग्दा जम्मा २।९६ प्रतिशत मात्रैले बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा नबिल बैंकले सबैभन्दा धेरै २५ अर्ब ५३ करोड रुपैयाँ कर्जा विस्तार गरेको देखिन्छ । सो बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि थप भएको कर्जाका कारण यस्तो तथ्यांक देखिएको हो ।
पछिल्लो समय कर्जाको माग नै नभएकाले कर्जा प्रवाहमा शिथिलता आएको बैंकर बताउँछन् । कर्जाको मागमा शिथिलता आउँदा बैंकहरुको सीडी रेसियो ९कर्जा निक्षेप अनुपात० घट्दै गएको छ । असार मसान्तसम्म ८८ प्रतिशत रहेको सीडी रेसियो हाल घटेर ८४ प्रतिशतमा झरेको छ । यसको अर्थ कर्जा प्रवाहभन्दा निक्षेपको वृद्धि बढी हुनु हो ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा निक्षेप २ खर्ब ९९ अर्ब रुपैयाँ थपिएको छ । संघका अनुसार गत आर्थिक वर्षको अन्त्य ९असार मसान्त०सम्म ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन भएकोमा यो आर्थिक वर्ष वैशाख मसान्तसम्म ४८ खर्ब ४० अर्ब ४४ करोड पुगेको छ । सो अवधिमा निक्षेप ६।५ प्रतिशतले बढेको हो ।
हालका दिनमा तरलता सहज भए पनि आगामी दिनमा चाप पर्न सक्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीको भनाइ छ । ‘सरकारले आन्तरिक ऋण पनि उठाइरहेको छ, अर्कोतिर प्रभावकारी रुपमा पुँजीगत खर्च हुन सकेको छैन त्यसकारण तरलता आगामी समय दवावमा रहन सक्छ’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।