बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । साताको चौथो कारोबार दिन आजको वृद्धि पश्चात नेप्सेमा लगातार ७ दिनको वृद्धि देखिएको छ ।
बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा कायम भएको छ । बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा खुसी छाएको छ ।
आगामी बजेटमा लगानीकर्ताको माग सम्वोधन हुने विश्वासका कारण लगानीकर्ताको मनोबल पनि उच्च रहेको देखिन्छ ।
नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा आज १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये बुधबार फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।