काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ११ प्रतिशत ब्याजदर रहेको १ हजार अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको यो ऋणपत्र ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ नामको रहेको छ ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्कासनका लागि वैशाख १० गते अनुमति दिएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता बैंकले व्यक्तिगत तबरबाट विभिन्न संगठित संघसंस्थाहरूलाई विक्री गर्नेछ भने ४ लाख कित्ता सर्वसाधारणमा (सामूहिक लगानी कोषसमेतका लागि) वितरण गर्नेछ । बैंकले २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।
यो ऋणपत्र खरीदका लागि आवेदन गर्ने अवधि जेठ १९ गतेसम्मका लागि तोकिएको छ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा जेठ ३० गतेसम्मका लागि विक्री अवधि लम्बिनेछ । ऋणपत्र खरीदका लागि आवेदन दिँदा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपसमेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।
बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । बैंकले ऋणपत्रबाट आर्जिन ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।