काठमाडौं । अमेरिकाको विभिन्न भागमा भाइरल भएको किया च्यालेन्ज नामक टिकटक ट्रेन्डका कारण दुई कार निर्माता कम्पनी किया र हुन्डाईलाई २ सय मिलियन अमेरिकी डलर जरिबाना गरिएको छ । हुन्डाई कम्पनीका ६ र किया कम्पनीका ८ मोडलमा भएको एक कमजोरीको फाइदा उठाउँदै किया बोइज नामक कार चोरहरूको समूहले यूएसबी केबलजस्ता साधारण तारको मद्दतले कसरी सजिलै ती कारहरू चोर्न सकिन्छ भनेर टिकटक र युट्युबमा भिडियो अपलोड गर्ने गरेका थिए ।
कार चोरीका भिडियोसम्बन्धी ट्रेन्ड सन् २०२० यता अमेरिकाको विभिन्न सहर र अस्ट्रेलियामा समेत फैलिएको थियो । अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनको तथ्यांकअनुसार सो ट्रेन्डमा आधारित रहेर सयौं गाडी चोरिएका थिए ।
चोर्ने क्रममा १४ वटा गाडी दुर्घटना भएका र ८ जनाको मृत्युसमेत भएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो जरिबानामध्ये १४५ मिलियन अमेरिकी डलर यो क्रममा आफ्नो कार गुमाएका व्यक्तिहरूले प्राप्त गर्नेछन् । यो ट्रेन्डका कारण जम्मा कतिवटा कार चोरिए भन्नेको यकिन तथ्यांक नभए पनि दुई सहरको उदाहरणले सो टिकटक ट्रेन्ड कतिसम्म फैलिएको थियो भन्ने झल्को दिन्छ ।
अमेरिकाको मेलवाकी सहरमा सन् २०२० मा ४६९ किया र ४ सय २६ हुन्डाई कार चोरी भएको उजुरी आएका थिए । सन् २०२१ मा सो संख्या बढेर ३ हजार ५ सय ५७ किया र ३ हजार ४ सय ६ ह्युन्डाई चोरी भएको उजुरी परेको थियो । यस्तै अमेरिकाको सिकागो सहरमा सो ब्रान्डका कारहरूको चोरी ९ गुणाले बढेको थियो । न्युयोर्क सहरमा ६ जना किशोरले एक किया स्पोर्टेज चोर्ने क्रममा भएको दुर्घटनामा ४ किशोरको ज्यान गएको थियो ।
यो ट्रेन्ड फैलँदै गएपछि दुई कम्पनीले निःशुल्क सफ्टवेयर अपग्रेडलगायतका उपायबाट रोक्न खोजे पनि ट्रेन्ड जारी रहेको थियो । ती कम्पनीले विभिन्न कारणले सफ्टवेयर अपग्रेड गर्न नसकेका कारधनीहरूलाई सुरक्षाका अन्य उपाय अपनाउन रकम दिने भएको छ‚ जसमा निस्शुल्क ह्विल लक बाँड्नेसमेत सामेल छन् । विशेषगरी ११ देखि १८/१९ वर्षका युवाहरू सामेल हुने यो च्यालेन्जमा रोकिराखिएका किया वा हुन्डाइका गाडीलाई केही केबलको मद्दतले सजिलै स्टार्ट गर्ने, अत्यधिक गतिमा गुडाउने र बिगारेर छडिदिने गरेका थिए । यो जरिबानाले अस्ट्रेलियाका कारधनीहरूलाई भने समेटेको छैन ।