Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

असारबाट कर्जाको ब्याजदर घट्दै, निक्षेपमा भने यथावत्


असारबाट कर्जाको ब्याजदर घट्दै, निक्षेपमा भने यथावत्

काठमाडौं । असार महिनामा निक्षेपको ब्याजदर परिवर्तन नहुने भएको छ । नेपाल बैंकर्स संघको बैठकले असार महिनाका लागि निक्षेपको ब्याजदर हालकै यथावत् राख्ने निर्णय गरेको हो । संघका अध्यक्ष सुनिल केसीले निक्षेपको ब्याजदर स्थिर रहे पनि कर्जाको ब्याज घट्न जाने जानकारी दिए ।

हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७. ९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् । यो ब्याजदर असारमा पनि निरन्तरता दिइएको हो । ‘आधार दर क्रमिक रुपमा घट्दै गएको छ, आधार दरअनुसार प्रत्येक महिनामा कर्जाको ब्याज समायोजन गर्दा असारमा पनि कर्जाको ब्याज घट्न जान्छ’ अध्यक्ष केसीले भने ‘दोस्रोमा, स्प्रेड दर असार मसान्तभित्र ४ प्रतिशतको सीमाभित्र ल्याइसक्नुपर्ने व्यवस्था छ, यसले पनि कर्जाकै ब्याज घट्ने हो ।’

हाल ४.२ प्रतिशतको अधिकतम सीमा रहेको स्प्रेड दर असार मसान्तभित्र ४ प्रतिशतको सीमाभित्र ल्याउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । निक्षेपमा बैंकहरुले दिने ब्याजदर र कर्जामा लिने ब्याजको औसत अन्तर नै स्प्रेड दर हो । निक्षेपको औसत ब्याजदर यथावत रहँदा स्प्रेड दर घटाउनका लागि कर्जाको औसत ब्याज घटाउनुपर्ने हुन्छ । जसले गर्दा पनि कर्जाको ब्याज पुनः घट्न लागेको हो । बैंकहरुले गत माघदेखि निक्षेपमा ब्याजदर घटाउन थालेपछि आधार दर क्रमिक रुपमा ओरालो लागेको छ ।