काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वमा सहमति जुटेको छ । पूर्वअध्यक्षसहितको उपस्थितिमा मंगलबार दुईवर्षे कार्यकालका लागि करण चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको हो । अध्यक्षमा चौधरी र नाडाका कार्यकारिणी सदस्य आकाश गोल्छा आकांक्षी थिए ।
यही पुस २० र २१ मा हुने ४७औं साधारणसभाबाट चुनिने नेतृत्वका लागि दुवै जना आआफ्नो पक्षमा माहोल बनाउन व्यस्त थिए । अध्यक्षका आकांक्षी गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको नाडाका अध्यक्ष ध्रुव थापाले पुष्टि गरे । ‘विशेष साधारणसभा गरेर विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद थप्ने सहमति भएको छ,’ उनले भने, ‘अहिले गोल्छाजी वरिष्ठ उपाध्यक्ष बन्ने सहमति भएको छ ।
अर्को पटक अध्यक्षका लागि निर्वाचन हुनेछैन । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नेछन ।’ विशेष साधरणसभा तीन महिनाभित्र गरिने पनि उनले जनाए । साधारणसभामा अन्य पदाधिकारीको नामसमेत सहमतिमा टुंग्याइने अध्यक्ष थापाले बताए । अघिल्लो निर्वाचनमा थापा र चौधरीबीच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो ।
यसपालि सहमतिकै आधारमा आफूलाई अध्यक्ष बनाउने निर्णय भएको करणले पुष्टि गरे । ‘यो सहमतिले अटोमोबाइल्स व्यवसायी एकजुट छन् भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘अटोमोबाइल्स व्यवसायीको हकहितमा काम गर्नेछु ।’ अध्यक्षका आकांक्षी गोल्छाले पनि एक जनाले पहिला नेतृत्व लिने र अर्कोले पछि लिने गरी सहमति भएको जनाए ।