Monday, November 10, 2025

२०८२ कार्तिक २५, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्यासिनोमा कडा निगरानी, तीन दिनभित्र विवरण पेस गर्न निर्देशन


क्यासिनोमा कडा निगरानी, तीन दिनभित्र विवरण पेस गर्न निर्देशन

बुटवल । राजस्व अनुसन्धान कार्यालय, बुटवलले रुपन्देहीमा सञ्चालनमा रहेका क्यासिनोमाथि निगरानी कडा बनाएको छ । राजस्व छली र लाभकर तिर्ने/नतिर्ने विषयमा स्पष्टता ल्याउन कार्यालयले नौ बुँदे प्रश्न पठाउँदै क्यासिनोलाई तीन दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।

प्रमुख राजस्व अनुसन्धान अधिकृत सुवास श्रेष्ठले कात्तिक १९ गते सबै क्यासिनोलाई पत्र पठाउँदै आर्थिक वर्ष २०८१/८२ देखि चालु आवसम्मको सम्पूर्ण कारोबारसम्बन्धी विवरण पेस गर्न भन्नुभएको छ । राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक अनुसन्धान गर्नुपर्ने भएकाले यस्तो निर्देशन दिइएको कार्यालयले जनाएको छ तर आइतबारसम्म दुई वटाबाहेक अन्यले विवरण बुझाएका छैनन् ।

श्रेष्ठका अनुसार हालसम्म भैरहवाको होटेल लाकौलमा सञ्चालनमा रहेको ह्याप्पी आवर प्रालि अन्तर्गतको ह्याप्पी आवर ग्यामिङ क्लब र कोटिहवास्थित टाइगर प्यालेस बाई सोल्टीले मात्र मागिएको विवरण पेस गरेका छन् । रुपन्देही जिल्लामा हाल सात वटा क्यासिनो सञ्चालनमा छन् ।

राजस्व अनुसन्धान कार्यालयले क्यासिनोमा नेपाली नागरिकको प्रवेश र प्रतिबन्धित भारतीय नोटको कारोबारबारे शङ्का जनाएको छ । नेपालमा भारतीय पाँच सयका नोट चलनमा प्रतिबन्धित भए पनि भारतीय पर्यटकलक्षित सञ्चालन भएका क्यासिनोमा खुलेआम ती नोट प्रयोग हुने गरेको जनाइएको छ । यस्तै नेपाली पनि ती क्यासिनोमा दैनिक रूपमा प्रवेश गरिरहेका छन् भन्ने सूचनापछि अनुसन्धानले चासो बढाएको हो ।

राजस्व अनुसन्धानको यो पहलसँगै रुपन्देहीका क्यासिनोमा कर पारदर्शिता, कानुनी पालना र आर्थिक अनुशासनको अवस्था परीक्षणमा पर्ने भएको छ । राजस्व अनुसन्धानले क्यासिनोलाई जुन प्रकारको इजाजत प्राप्त भएको हो, सो अनुसार सञ्चालन भइरहेका खेलको विवरण, क्यासिनो नियमावली २०८२ को नियम १४ को उपनियम २ र नियम १८ अनुसारका विवरण, नगद तथा वित्तीय कारोबार, आकस्मिक लाभकर दाखिला, आधार कार्ड प्रयोग गरी प्रवेश गर्ने नेपालीको विवरण, प्रतिबन्धित भारतीय नोटको कारोबार भएको छ वा छैन भन्ने जानकारी, सिसिटिभी अभिलेख कम्तीमा छ महिना सुरक्षित राखिएको छ वा छैन, साथै गत आवको कर चुक्ता र चालु आवको इजाजतपत्र नवीकरणसम्बन्धी विवरण पेस गर्न माग गरेको हो ।