काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेपछि अहिले अर्थतन्त्र क्षेत्रमा तरंग बढेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो। कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुट वेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो ।
यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको सीआईबीको दाबी छ । केही महिना अघिबाटै अनुसन्धान भइरहेकामा तथ्य र प्रमाणले कानुनविपरीतका गतिविधि भएको देखिएपछि चौधरी सहिनत केहिलाई नियन्त्रणमा लिएसँग अहिले आर्थिक तथा राजनीतिक क्षेत्रमा त्यसकाने तरंग बढेको हो ।
घटनाको नीजि क्षेत्रले विरोध गरेका छन् भने राजनीतिक क्षेत्रमा पनि यसको तरंग बढेको छ । २०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना ८३ रोपनीमा फैलिएको थियो । कम्पनी निरन्तर घाटामा गएको कारण देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो ।
यस क्रममा सञ्चालक समितिले प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी (दुई पटक गरी) जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो । सरकारी उद्योगको जग्गा बिक्री गर्ने निर्णय मन्त्रिपरिषद्बारा मात्र सम्भव हुने भए पनि सञ्चालक समितिले नै त्यस्तो निर्णय गरेकामा कार्यकारी अध्यक्ष थापा र सञ्चालक समितिलाई सीआईबीले आरोपी मानेको छ ।
जग्गाको कुल मूल्य २५ लाख रुपैयाँ कायम भएकामा सो बराबर हुने गरी च्याम्पियन फुटवेयरको २५ सय कित्ता सेयर बाँसबारीले पाएको थियो । यसरी च्याम्पियनमा २५ प्रतिशतको सेयरधनी बाँसबारी भएकामा बाँकी ७५ प्रतिशत सेयर चौधरी परिवारका विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालका नाममा कायम भएको थियो ।
यही अनुबन्धका आधारमा २०४३ कात्तिकमा च्याम्पियन फुटवेयर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो । बाँसबारीको ६ रोपनी जग्गा २०४४ को भदौमा र थप चार रोपनी जग्गा मंसिर १८ मा च्याम्पियन फुटवेयरको नाममा सारिएको थियो । च्याम्पियन फुटवेयरमा २५ प्रतिशत सेयरका लागि बाँसबारीको जग्गाको मूल्यांकनबाट २५ लाख लिइएकामा ७५ प्रतिशत सेयरबापत चौधरी परिवारले भने आठ लाख मात्र भुक्तान गरेको देखिएको सीआईबीको दाबी छ ।
यता प्रारम्भिक सोधपुछमा नबोलाई पक्राउ गरेकामा निजी क्षेत्रले विरोध गरेकने छ। नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले परिसंघले प्रक्रियाको विषय उठाइरहेको बताएका छन् । आकस्मिकरुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष अग्रवालले धरपकड शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताएका हुन् ।
व्यवसायीलाई पक्राउ गर्नका लागि प्रक्रिया हुने र सोअनुसार पक्राउ गर्नुपर्ने उनको भनाई छ । देशमा ठूलो मात्रामा लगानी गरिरहेको उद्योगी व्यवसायी रातारात भाग्ने जसरी पक्राउ गर्नुनै गलत भएको उनको भनाई छ । ‘व्यवसाय गरिरहेको व्यवसायीलाई थुनामा राख्दा देशको उद्योग धन्दा कसरी चल्छ,’ उनले थपे, ‘यो प्रक्रिया नै गलत भयो । यसलाई तत्काल रोक्नुपर्छ ।’