काठमाडौं, २ असार । चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि रोकिएको छ ।
निगमको अपरेसन विभागका एक उच्च अधिकारीका अनुसार, उक्त विमानबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका छन् । ‘ककपिटमा हुने सिलिन्डरमा अक्सिजन अभावले निगमको सगरमाथा नामको न्यारोबडी मलेसियामै ग्राउडेड भएको छ,’ निगमको वाणिज्य विभागका एक कर्मचारीले भने, ‘त्यसबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमै अलपत्र छन् ।
निगमले ७ दिनदेखि काठमाडौंमा ग्राउन्डेड भएको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की (नेपाली नाम सगरमाथा) भएको विमानलाई आइतबार भारतीय इन्जिनियरहरू झिकाई मर्मत गरेर सोमबार राति १० बजे मलेसिया उडाएको थियो । विमान अभावले आइतबारको मलेसिया उडान रद्द हुदा सयौं यात्रुलाई निगमले आफ्नै खर्चमा काठमाडौंमा होटलमा राखेर केहीलाई सोमबारको उडानमा यसै विमानबाट मलेसिया पठाएको थियो । यही विमानको ककपिटको अक्सिजन अभाव भएपछि त्यहाँबाट नेपाली सयमअनुसार बिहान ३ बजे उड्नुपर्ने जहाज ९ बजेसम्म उडेको थिएन ।