काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिटरलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ क्यासी अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्रीलाई औपचारिक भेटवार्तासमेत गरेको छ ।
भेटवार्तामा नेपालको आर्थिक विकासमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवं विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा समेत छलफल भयो । नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि नै भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीहरूलाई प्रधानमन्त्री दाहालले आग्रह गरे ।
नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको र नेपालमा लगानीका लागि अति नै उपयुक्त समय पनि भएको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको उनको भनाइ छ । भेटवार्ताका अवसरमा महासंघका अध्यक्ष ढकालले ३७ औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए । एसिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने पनि उनले प्रस्ट्याए । लगानी आकर्षण एवं आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सघाउन आफूहरू तयार रहेको क्यासीका अध्यक्ष पिटरले प्रतिबद्धता जनाए ।
महासंघको आयोजनामा कात्तिक २० देखि काठमाडौंमा क्यासीको ३७ औं सम्मेलन आयोजना भइरहेको छ । कार्यक्रममा एसिया प्रशान्त क्षेत्रबाट करिब तीन दर्जन व्यावसायिक नेता काठमाडौं आएका छन् । सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौतीलगायत विषयमा विचारविमर्श भइरहेको छ ।