श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रूपमा श्रम संसार रोजगार पोर्टल (www.shramsansar.gov.np) र श्रम संसार एप मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
विभागले आज जारी गरेको सूचनामा भनिएको छ कि वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार आवश्यक विवरण खुलाइ राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत रहनेछ। तर, उक्त विज्ञापन अब श्रम संसार पोर्टलमा समेत अपलोड गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको हो।
सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएपछि उक्त एपबाट समेत नागरिकहरूले सजिलै विज्ञापन हेर्न सक्ने व्यवस्था मिलाइएको विभागले स्पष्ट पारेको छ। विज्ञापन राष्ट्रिय दैनिकमा मात्र प्रकाशित हुँदा नागरिक एपमार्फत सत्यापन गर्न नसकिने भएकाले अनलाइन प्रकाशनलाई अनिवार्य बनाइएको सूचनामा उल्लेख छ।
विभागले सबै वैदेशिक रोजगार व्यवसायीहरूलाई वैदेशिक रोजगारका लागि कामदार पठाउन विज्ञापन प्रकाशन गर्दा श्रम संसार पोर्टल वा एपमा अपलोड गर्न र सम्पूर्ण विवरण समेट्न सूचित गरेको छ। उन १३ गतेदेखि लागू गरिएको यस व्यवस्था अनुसार, अनलाइनमा विज्ञापन अपलोड नगरेमा अपूर्ण ठहरिने र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।
वैदेशिक रोजगार सम्बन्धी विज्ञापन अनिवार्य रूपमा अनलाइन प्रकाशन गर्न विभागको सूचना