काठमाडौं । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सघाउने भएको छ । बीबीसीका अनुसार यो कोष अमेरिकाले रूसबाट जफत गरेको सम्पत्तिबाट दिन लागेको हो ।
अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले भनिन्, ‘जफत गरिएका सम्पत्तिबाट आर्थिक सहायता दिनुको मतलब रसियाले आफ्नो अवैध युद्धको मूल्य चुकाउनुपर्नेछ भन्ने हो ।’
अमेरिकाले २० अर्ब डलरको रकम विश्व बैंकको कोषमा जम्मा गरिसकेको र त्यहींबाट त्यो रकम युक्रेनलाई उपलब्ध गराउने उनले जानकारी दिइन् ।
अमेरिकामा हालसालै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले राष्ट्रपति कार्यभार सम्हाल्ने बित्तिकै रसिया-युक्रेन युद्धलाई सकेसम्म चाँडो अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । यही अवस्थामा अमेरिकाले यो घोषणा गरेको हो ।
ट्रम्पले युक्रेनलाई दिइने सहयोगलाई ‘अमेरिकी स्रोतमा बोझ’ भनेर टिप्पणी गरेका थिए। ट्रम्पको यस बयानपछि नयाँ प्रशासनमा युक्रेनलाई आर्थिक सहायता जारी रहन्छ कि रहँदैन भन्नेबारे शंका उत्पन्न भएको थियो ।