झापा । नेपालबाट भारततर्फ निर्यात हुने क्रममा भारतको पानीट्यांकीस्थित भन्सारमा तीन सातादेखि ३४ ट्रक नेपाली प्लाइउड रोकिएका छ । २३ दिनदेखि प्लाइउड बोकेका ती ट्रक पूर्वीसीमा काँकडभिट्टापारि पानीट्यांकीमा रोकिएका हुन् । गत फागुन २७ मा प्लाइउड लिएर ती ट्रक भारत गएका थिए ।
भारतीय भन्सार कार्यालयले भने ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बीआइएस) नभएको भन्दै नेपाली सामानलाई नाकामै रोकिदिएको हो । अहिले ८ करोड ५० लाख मूल्य बराबरको नेपाली प्लाइउड भारततर्फ नाकामै रोकिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईंले बताए । बीआईएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बीआईएस प्रमाणित हुनुपर्ने नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनको निर्यात प्रभावित बनेको उनको भनाइ छ ।