काठमाडौं । मौसममा सुधार आएसँगै बिहीबारदेखि लुक्ला उडान पुनः सुचारु भएको छ । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि लुक्ला–रामेछाप उडान प्रभावित हुन पुगेको थियो । मौसममा सुधार आएपछि बिहीबार रामेछापको मन्थली विमानस्थलबाट सोलुखम्बुको तेन्जिङ हिलारी विमानस्थलमा ६२ वटा जहाज ओहोरदोहोर गरेका छन् ।
त्यस्तै बिहीबार दिनभर ८० भन्दा बढी पटक हेलिकोप्टरले दोहोरो उडान गरेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ । लुक्ला विमानस्थल प्रमुख उमेशकुमार पन्थीका अनुसार लुक्लाको मौसम खुलेसँगै बिहीबार रामेछाप–लुक्ला उडानमा पाँच सयभन्दा बढी पर्यटकले ओहोरदोहोर गरेका छन् ।
पाँच दिनको अवधिमा चार्टर हेलिकोप्टरले उडान गरे पनि जहाजको उडान भने ठप्प रहेको बताए । त्यस्तै मन्थली विमानस्थलका सूचना अधिकारी पूजा थापाका अनुसार जहाजको नियमित उडान रोकिँदा पनि लुक्लामा दैनिक दुई सय हाराहारीमा पर्यटक ओहोरदोहोर गर्दै आएका थिए । सफा मौसम भएको समयमा मन्थली–लुम्लामा दैनिक ४० पटकभन्दा बढी उडान हुँदै आएका छन् ।