Thursday, November 20, 2025

२०८२ मंसिर ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतले नेपाललाई दियो १० वटा बेलीब्रिज


भारतले नेपाललाई दियो १० वटा बेलीब्रिज

हेटौंडा । भारतले नेपाललाई थप १० वटा बेलीब्रिज (फलामे पुल) अनुदानमा दिएको छ। भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेलीब्रिज दिएको हो। 

भारतले उपलब्ध गराउने १० वटामध्ये  एउटा बेली ब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ। बाँकी नौ वटा बेली ब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई बेलीब्रिज हस्तान्तरण गर्नुभएको हो। 

भारतले उपलब्ध गराएको बेली ब्रिजको लम्बाई ७० मिटर रहेको छ। पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ। पुलको भार बहन क्षमता ३८ मेट्रिक टन रहेको छ। 

पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका बेला भारतले उपलब्ध गराएको सहायतले क्षति पुगेका पूर्वाधार शीघ्र पुनस्र्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताउनुभयो। 

सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले संकटका समयमा उपलब्ध गराएको सहायताले द्विपक्षीय साझेदार अझै दह्रो देखिएको बताउनुभयो। उहाँले भारतले नेपाललाई गर्दै आएको निरन्तर सहायोगका लागि धन्यवाद दिनुभयो। 

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सँधै तयार रहेको बताउनुभयो। यस वर्ष उपलब्ध गराइएको बेलीब्रिजको लम्बाइ केही लामो रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न थप सहज हुने उल्लेख गर्दै उहाँले छनौट गरिएका ठाउँमा पुल जडानका लागि छिटै प्राविधिक टोली पनि आउने जानकारी दिनुभयो। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले प्राकृतिक विपद्ले क्षति पुर्याएका सडक सञ्चालनका लागि भारतकातर्फबाट उपलब्ध हुँदै आएको वस्तुगत र प्राविधिक सहयोगका लागि धन्यवाद दिनुभयो।