Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अर्थतन्त्र लयमा फर्कँदै गरेपनि चुनौती कायमैः कामु गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना


अर्थतन्त्र लयमा फर्कँदै गरेपनि चुनौती कायमैः कामु गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना

काठमाडौं । नेपाल राष्ट्र बैंकको का.मु.गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र लयमा फर्कँदै गरेपनि चुनौती कायमै रहेको बताएकी  छन् । आइतबार राष्ट्र बैंकको ७० औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनका अनुसार पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखा परेका छन्। एकातिर जारी रुस–युक्रेन युद्ध अन्त्य हुने ठोस आधार हालसम्म नदेखिँदा आपूर्ति व्यवधान हट्ने सम्भावना अनिश्चित हुँदै गएको छ भने मध्यपूर्वमा जारी द्वन्द्वको अन्त्य अनिश्चित रहेको छ । यसका साथै, संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकहरूका लागि नयाँ भन्सार दर घोषणालगायत व्यापार नीतिमा परिवर्तन गरेकाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको छ । यस्ता बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवम् बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको छ ।

अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको छ । मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैङ्किङ क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रयमासको आर्थिक वृद्धिको तथ्याङ्कले समेत यसको पुष्टि गरेको उनले दाबी गरिन् । पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा रहेको उनले जानकारी दिइन् ।

उनका अनुसार वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएको छ । देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ भने उल्लेख्य रूपमा भएको शाखा विस्तारका कारण वित्तीय पहुँचमा वृद्धि भएको छ ।

यस बैंकले गरेको नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवम् सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा बढेको छ । अन्तरदेशीय भुक्तानी प्रणालीको अन्तर आबद्धता समेत प्रारम्भ भएको उनले जानकारी दिएकी  छन् ।